धरानमा कवि अस्मिता विष्टको ‘ब्ल्याकहाेलमा गीतहरू’ कविता सङ्ग्रह विमाेचन

२७ सेप्टेम्बर, धरान । कवि डा. अस्मिता विष्टको पहिलो कृति ‘ब्ल्याकहाेलमा गीतहरू’ कविता सङ्ग्रह शनिबार धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा आयोजित विशेष कार्यक्रममा विमोचन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का पूर्व प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङले विष्टका कविताहरू व्यक्तिगत रूपमा आफूलाई प्रभावित गरेको भन्दै महाकवि देवकोटा र आयामेली कविहरूको प्रभावसहित कवितामा नयाँ स्वाद अनुभव गर्न सकिने टिप्पणी गरे।

विमाेचनपछि भएको समीक्षात्मक सत्रमा कवि टीका आत्रेयले सङ्ग्रहलाई अब्बल दर्जाको ठहर गर्दै नारीवादी दृष्टिकोण सशक्त रूपमा प्रस्तुत भएको बताइन्। उनले विष्टले पुरातन संस्कृतिका रुढिवादी अभ्यासलाई चुनौती दिएको उल्लेख गरिन्। उपप्राध्यापक दीपक न्यौपानेले पुस्तकमा प्रयुक्त विम्ब र प्रतीकहरूको सशक्त प्रयोगको प्रशंसा गर्दै कवि विष्टले कवितामा पनि आलोचकको हैसियतमा आफ्नो सामर्थ्य देखाएको टिप्पणी गरे।

कविता वाचन सत्रमा कवि चन्द्र गुरुङ, करुणा राई, सुदीप पाख्रिन, सविता फागो चोङवाङ, श्रेया खड्का लगायतले सङ्ग्रहभित्रका कविता वाचन गरे भने स्वयं कवि विष्टले ‘सम्झनाको तोरनमा टाँगिएका बा’ शीर्षक कविता वाचन गर्दै पुस्तक सार्वजनिक भएको घोषणा गरिन्। कार्यक्रमको सञ्चालन कवि हेमन यात्रीले गरेका थिए।

साहित्यिक सभामा प्रा.डा. गोपाल भण्डारी, डा. खेम दाहाल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, कविहरू प्रदीप मेन्याङ्वो, राज माङ्लाक, देवान किराती, बद्री भिखारी, प्रज्ज्वल पराजुली, पराजित पोमु, रोम ढुंगेल, मिश्रा गुरुङ, केपी घिमिरेलगायतको उपस्थिति रहेको थियो।

अस्मिता विष्ट दुई दशकदेखि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी प्राध्यापन गर्दै आएकी हुन्। उनले “Confinement, Transgression, Liberation: Dynamics of Gender Role in Contemporary Nepali Novels and Films” शीर्षकमा विद्यावारिधि हासिल गरेकी छन्। लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र चलचित्रबारे उनका चार दर्जनभन्दा बढी लेख प्रकाशित छन्।

इन्डिगो इन्कबाट प्रकाशित ‘ब्ल्याकहाेलमा गीतहरू’ मा ४५ वटा कविता समावेश छन्। नारी–पुरुष जीवन भोगाइ, सामाजिक बेथिति, सांस्कृतिक उत्पीडन र नयाँ पुस्ताको मनोविज्ञान पुस्तकका प्रमुख विषयवस्तु हुन्। पुस्तकको मूल्य रु. ३४९ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित