लागूऔषधसहित कोशी प्रदेशका चार जिल्लाबाट १२ जना पक्राउ

विराटनगर, कार्तिक १२। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी कोशी प्रदेश कार्यालय विराटनगरका अनुसार कार्तिक ११ गते विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट इलाका प्रहरी कार्यालय लौकहीले इलामको चुलाचुली गाउँपालिका–५ का यामकुमार राईलाई २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी चौकी देउरालीले धरान–५ बाट सोही स्थानका अमिर सार्कीलाई ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी बरगाछी र तिनकुनेको टोलीले धरान–८ की सलिना राईलाई ८५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी खनारले इटहरी उपमहानगरपालिका–११ बाट मोरङको सुन्दरहरैँचा–२ का अरुण माझीलाई ट्रामाडोल ८१० क्याप्सुल, डिक्लोमाइन ८०० क्याप्सुल र प्रदेश १–०२–०४१ प २५४६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–८ बाट ट्रामाडोल ५ हजार २७० क्याप्सुल र डाइक्लोमाइन ५ हजार ५१० ट्याब्लेटसहित सोही स्थानका अभिशेक चौधरी, युगल सुन्दास र एक बालकलाई नियन्त्रणमा लिएको छ।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित अस्थायी प्रहरी पोस्ट बसपार्कले इटहरी–२ का अनिष खड्कालाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेबाट सुनसरीको दुहबीका संजय उरावलाई २ ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय विराटचोकले पक्राउ गरेको छ।

त्यस्तै, अस्थायी प्रहरी पोस्ट सोमबारेले बेलबारी–६ बाट प्रदेश १–०२–०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार धनकुटाको चौबिसे गाउँपालिका–७ का आइतबहादुर राई र एक बालकलाई ३० किलो ९९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।

धनकुटाको चौबिसे गाउँपालिका–६ बाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का रोमन भन्ने रमेश पोखरेललाई ट्रामाडोल ६४ क्याप्सुल, डिकोलोक ३७ चक्की र स्पास्पेन ३१ वटासहित प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित