तामाङ समुदायका प्रतिभाशाली व्यक्तित्वमाथि बारम्बार विवाद किन? युवराज लामाको प्रश्न

धरान। तामाङ समुदायबाट उदाएका आध्यात्मिक व्यक्तित्व तपस्वी रामबहादुर बम्जन र विश्वप्रसिद्ध गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा मोक्तानका विषयलाई लिएर लेखक युवराज लामाले समाजमा फरक सोच र प्रतिभालाई हेर्ने दृष्टिकोणमाथि प्रश्न उठाउनुभएको छ।

लामाले सार्वजनिक गर्नुभएको विचारमा बम्जन र आनी छोइङका प्रसङ्ग उल्लेख गर्दै तामाङ समुदायका प्रतिभाशाली व्यक्तित्वहरूले बारम्बार विरोध र विवादको सामना गर्नुपर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाइएको छ।

बम्जनको मौलिक दर्शन र विवाद

लामाले तपस्वी रामबहादुर बम्जनले मौलिक मैत्री दर्शन, वैकल्पिक जीवनपद्धति, मैत्री लिपि तथा भाषा, संस्कार र आध्यात्मिक मार्गको अवधारणा अघि सारेको उल्लेख गर्नुभएको छ।

बम्जनमाथि विभिन्न अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएको घटनालाई उल्लेख गर्दै उहाँसँग सम्बन्धित विवाद र आरोपहरूको निष्पक्ष छानबिन गरी तथ्यका आधारमा सत्यतथ्य सार्वजनिक हुनुपर्ने लामाको धारणा छ। आश्रम सञ्चालनका लागि चेलाहरूले दिएको रकम प्रहरीले जफत गरेको र त्यसको दुरुपयोग भएको भन्ने आरोपसमेत निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उहाँले उठाउनुभएको छ।

लामाका अनुसार, कुनै पनि व्यक्तिको विचार र दर्शनप्रति असहमति हुन सक्छ। तर त्यसको मूल्याङ्कन पूर्वाग्रहका आधारमा नभई तथ्य, प्रमाण र निष्पक्ष अध्ययनका आधारमा गरिनुपर्छ।

आनी छोइङको अन्तर्राष्ट्रिय पहिचान र नियुक्तिबारे बहस

बौद्ध दर्शन र भिक्षुणी परम्परासँग जोडिएकी आनी छोइङ डोल्मा मोक्तानले गायन, समाजसेवा तथा मानवीय कार्यमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्‍याएको लामाले उल्लेख गर्नुभएको छ।

उहाँको विचारमा आनी छोइङको योगदानलाई कुनै एउटा समुदाय वा क्षेत्रको सीमाभित्र मात्र राखेर हेर्न मिल्दैन। उहाँको गायन र सामाजिक कार्यले नेपाली कला, संस्कृति तथा नेपालको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्‍याएको छ।

लामाले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएपछि भइरहेको विरोध र आलोचनाबारे पनि प्रश्न उठाउनुभएको छ। नियुक्तिबारे प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार भए पनि विरोधका आधार तथ्यपरक छन् वा पूर्वाग्रहबाट प्रेरित छन् भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उहाँको धारणा छ।

फरक सोच र प्रतिभालाई स्वीकार गर्न नसकिएको हो?

बम्जन र आनी छोइङका प्रसङ्गलाई जोड्दै लामाले तामाङ समुदायबाट उदाएका व्यक्तित्वहरूमाथि बारम्बार विवाद र विरोध देखिनुको कारणबारे प्रश्न गर्नुभएको छ।

के यस्तो विरोध वैचारिक असहमतिका कारण भइरहेको छ? के यो परम्परागत सोचसँगको टकराव हो? वा यसका पछाडि अन्य स्वार्थ र पूर्वाग्रह छन्? लामाले यस्ता प्रश्नमाथि तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले कुनै पनि घटनाबारे सुनेका भरमा धारणा बनाउनुभन्दा वास्तविकता बुझेर विवेकपूर्ण निर्णय लिनुपर्ने सन्देश दिनुभएको छ।

लेखको अन्त्यमा लामाले प्रचलित उखान ‘कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागकै पछि दौडिने’ प्रवृत्तिमाथि प्रश्न गर्दै सत्यतथ्य बुझेर मात्रै निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित