स्थानीय निर्वाचन गैरदलीय बनाउन र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन उज्यालो नेपाल पार्टीको माग

धरान, कात्तिक ११। उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बुधबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष दुईवटा प्रमुख मागसहित ज्ञापनपत्र बुझाएको हो।

पार्टीले स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाभन्दा बाहिर राखेर उम्मेदवारको योग्यता, इमानदारी, क्षमता, कार्ययोजना र जनताप्रतिको जवाफदेहिताका आधारमा नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ।

स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र राजनीतिक भागबन्डाको केन्द्र नभई जनसेवा, सुशासन र स्थानीय विकासको प्रभावकारी माध्यम बनाउन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको पार्टीको भनाइ छ। यस्तो प्रस्ताव बहुदलीय लोकतन्त्रको विरोध नभई स्थानीय सरकारलाई नागरिकमुखी, निष्पक्ष र परिणाममुखी बनाउने सुधारको पहल भएको पनि पार्टीले जनाएको छ।

त्यसैगरी, रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पार्टीले माग गरेको छ। देशको अर्थतन्त्र र विकासमा योगदान पुर्‍याइरहेका विदेशस्थित नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसर दिनुपर्ने पार्टीको धारणा छ।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रमुख निर्वाचन आयुक्तले विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयनका लागि सरल, सुरक्षित, कम खर्चिलो र अधिकतम सहभागिता सुनिश्चित गर्ने मतदान प्रणालीबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको पार्टीले जनाएको छ।

निर्वाचन सुधारका विषयमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबीच व्यापक छलफल, सहमति र समन्वय आवश्यक रहेको प्रमुख निर्वाचन आयुक्तको भनाइ उद्धृत गर्दै पार्टीले जनाएको छ।

उज्यालो नेपाल पार्टीले दुवै विषय कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत सुधार गर्न समयबद्ध पहल अघि बढाउन आग्रह गरेको छ। स्थानीय तहमा योग्य र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने उद्देश्यसहित यी विषयमा निरन्तर पहल गर्ने पार्टीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित