धरान । २४ घण्टाभित्र देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार इलाम, सप्तरी, सिरहा, सिन्धुली, गुल्मी र पाल्पामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
नेपाल प्रहरीका अनुसार इलामको देउमाई नगरपालिका–१ चमैतास्थितमा बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खस्दा चालक २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै, सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डौलस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय सुनिल कुमार चौधरी घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा भारतको मधुवनी जिल्ला निवासी ४० वर्षीय जनार्दन मुखियाको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना घाइते र तीन जना बेपत्ता भएका थिए। पछि थप दुई जनाको शव फेला परेको प्रहरी विवरणमा उल्लेख छ।
यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित सडक खण्डमा स्कारपियो गाडी सडकबाट करिब २५० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गुल्मीकी ३६ वर्षीया माया कुँवर घाइते भएकी थिइन्। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चलाउँदा सावधानी अपनाउनु, गति नियन्त्रण गर्नु र ट्राफिक नियम पालना गर्नु आवश्यक रहेको देखाउँछ।





















Discussion about this post