धरान । धरान उपमहानगरपालिका वडा नं. ९ का कार्यपालिका सदस्य विकास बाटीले गौतमपथमा सञ्चालन हुँदै आएको धनतेरस विशेष झिलिमिली कार्यक्रम रोकिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंविरुद्ध विरोध जनाएका छन्।
बाटीले कालो झन्डा र विरोधका प्लेकार्डसहित उपमहानगरपालिकामा बसेर प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले चौलागाईंले आफूलाई व्यक्तिगत रूपमा हेपेको र जातीय तथा क्षेत्रीय पहिचानका आधारमा विभेदपूर्ण व्यवहार गरेको अनुभूति भएको आरोपसमेत लगाएका छन्।
बाटीका अनुसार गौतमपथमा विगतका वर्षदेखि सञ्चालन हुँदै आएको धनतेरस विशेष कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उनले आफ्नो योजनाबाट ४ लाख र आर्थिक विकास महाशाखाबाट २ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए।
उनका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक टिप्पणी उठाउने, बजेट स्वीकृत गर्ने र तयारीका कामसमेत अघि बढिसकेको थियो। तर प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले सम्झौतापत्रमा हस्ताक्षर नगरेपछि कार्यक्रम सञ्चालन हुन नसकेको हो।
बाटीले चौलागाईंलाई सम्झौता हस्ताक्षर गर्न आग्रह गर्दा आफूलाई अपमानजनक शब्द प्रयोग गरी सम्बोधन गरेको आरोप लगाए। उनले यसअघि पनि गत वर्ष यस्तै प्रकृतिको अवरोध सिर्जना गरिएको दाबी गर्दै यसपटक भने आफूले सहन नसक्ने अवस्था आएको बताए।
‘मेरो फाइल मात्र रोकियो, मेरो अगाडि अन्य १० वटा फाइलमा उहाँले हस्ताक्षर गर्नुभयो,’ बाटीले भने, ‘मैले यसलाई आफूमाथिको विभेदका रूपमा लिएको छु।’
उनले आफू मधेसी मूलको भएकै कारण हेपिएको अनुभूति भएको बताउँदै आफू धरानमै जन्मिएर हुर्किएको र धरानको माटो तथा पानीसँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गरे।
बाटीका अनुसार गौतमपथको झिलिमिली कार्यक्रमले स्थानीय व्यापारी, साना व्यवसायी तथा सर्वसाधारणलाई आर्थिक र सामाजिक रूपमा फाइदा पुर्याउँदै आएको थियो। कार्यक्रम सञ्चालन हुँदा राति १० बजेसम्म बजारमा चहलपहल हुने, साना व्यवसायीको व्यापार बढ्ने र पुराना सामान बिक्री गर्नसमेत सहज हुने गरेको उनको भनाइ छ।
यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै आगामी दुईदेखि चार वर्षसम्म प्रयोग गर्न सकिने नयाँ बत्ती खरिद गर्ने तयारीसमेत गरिएको उनले बताए। कार्यक्रमका लागि टेन्ट, बत्ती र अन्य आवश्यक व्यवस्थापनको तयारी भइसकेको अवस्थामा सम्झौता हुन नसक्दा सबै तयारी प्रभावित भएको उनको दाबी छ।
बाटीले प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफ्नो विरोध व्यक्तिगत रूपमा आफूलाई गरिएको दुर्व्यवहार र विभेदविरुद्ध केन्द्रित रहेको स्पष्ट पारे। मेयरसहित विभिन्न राजनीतिक दलका नेताहरूले विवाद समाधानका लागि प्रयास गरे पनि आफूले भोगेको अपमानको सम्बोधन हुन नसकेको उनको भनाइ छ।
उनले प्रमुख प्रशासकीय अधिकृतको अधिकार प्रयोग गर्ने शैलीप्रति प्रश्न उठाउँदै पहुँच हुने र नहुने नागरिकबीच फरक व्यवहार हुने अवस्था सिर्जना हुन नहुने बताए।
यद्यपि, यस विषयमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंको धारणा तथा सम्झौता हस्ताक्षर नगर्नुको कारण सार्वजनिक हुन बाँकी छ। कार्यक्रमका लागि विनियोजित बजेट, स्वीकृत प्रक्रिया र सम्झौता रोक्नुको प्रशासनिक आधारबारे उपमहानगरपालिकाको आधिकारिक धारणा पनि आवश्यक देखिन्छ।
गौतमपथको धनतेरस विशेष कार्यक्रम रोकिएसँगै स्थानीय व्यवसायी तथा सर्वसाधारणले समेत त्यसबाट हुने आर्थिक र सामाजिक गतिविधि प्रभावित हुने चिन्ता व्यक्त गर्न सक्ने अवस्था बनेको छ।




















Discussion about this post