धरान । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले धरान–४, १३ र १४ जोड्ने सेउती खोलाको फलामे पुल उद्घाटन समारोहमा सम्बोधन गर्दै कार्यवाहक मेयरलाई धरानको बजेट छिट्टै ल्याएर नगरवासीको सेवामा लाग्न आग्रह गरेका छन्।
साम्पाङले उद्घाटन कार्यक्रममा श्रमदाता, सहयोगी, पूर्व ब्रिटिस आर्मी, सिंगापुर प्रहरी, भारतीय सेनाबाट अवकाशप्राप्त व्यक्तित्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे। उनले श्रम संस्कृति पार्कको रोज गार्डेन निर्माणमा नेतृत्वदायी भूमिका खेलेकी गंगा दिदीको विशेष प्रशंसा गर्दै उहाँलाई प्रेरणाको स्रोतको रूपमा उल्लेख गरे।
दार्चुलामा तुइनमा झुन्डिएकी एक बालिकालाई देखेपछि पुल निर्माण अभियान सुरु भएको स्मरण गर्दै उनले दार्चुलामा निर्माण गरिएको पुल केवल भौतिक संरचना नभई दुई समुदायबीचको सम्बन्ध जोड्ने माध्यम बनेको बताए। सो अभियानमा अपेक्षाभन्दा धेरै आर्थिक सहयोग आएको भए पनि आवश्यकभन्दा बढी रकम नलिइएको भन्दै उनले अभियानको पारदर्शितामाथि जोड दिए।
साम्पाङले दार्चुला पुल निर्माणमा इन्जिनियर डम्बरप्रसाद लिम्बूसहित सम्पूर्ण श्रमदाता र सहयोगीको योगदानको खुलेर प्रशंसा गरे। ८५ दिनसम्म कठिन श्रम गरेर पुल निर्माण गरिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा फैलाइएका “भात–मासु खायो” भन्ने आलोचनाको प्रतिवाद गरे। पुल निर्माणका क्रममा श्रमदाताले बगाएको पसिना र दुःखको मूल्य बुझ्न आलोचकहरूलाई दार्चुला पुगेर वास्तविकता हेर्न आग्रह गरे।
सरकारले अझै महाकाली नदीमा नेपाल–भारत जोड्ने पुल निर्माणका लागि आवश्यक अनुमति समेत लिन नसकेको दाबी गर्दै उनले सरकारलाई चुनौती दिए—“सक्नुहुन्छ भने दुई महिनाभित्र पुल बनाएर देखाउनुस्, म सबैभन्दा ठूलो फूलको माला लिएर धन्यवाद दिन आउँछु।”
धरानका पछिल्ला धार्मिक तथा सांस्कृतिक विवादबारे बोल्दै साम्पाङले कुनै व्यक्तिको व्यक्तिगत अभिव्यक्तिलाई श्रम संस्कृति पार्टीको आधिकारिक धारणा नठान्न आग्रह गरे। सबै समुदायको सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उनले जोड दिए।
धरानको विकासका लागि केन्द्र सरकारसँग खानेपानी, पूर्वाधारलगायत विभिन्न योजनामा बजेट माग गरिएको जानकारी दिँदै उनले सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाएको बताए। साथै उनले कार्यवाहक मेयरलाई समयमै नगरको बजेट ल्याएर विकास निर्माणका काम अघि बढाउन आग्रह गर्दै सबै पक्ष मिलेर काम गरे धरानको विकास छिट्टै सम्भव हुने विश्वास व्यक्त गरे।
अन्त्यमा उनले श्रमदान अभियानलाई निरन्तरता दिने घोषणा गर्दै आगामी कार्यक्रमहरूमा सहभागी हुन सबै श्रमदातालाई आह्वान गरे।




















Discussion about this post