नबिन सेन्चुरी
धरान, साउन १४ — धरान उपमहानगरपालिका–२ स्थित देशिलाइन क्षेत्रमा विगत दुई दिनदेखि जारी आन्दोलनका कारण उद्योगी, व्यवसायी तथा सर्वसाधारण उपभोक्ताले भोग्नुपरेको असुविधाप्रति सुनसरी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै संघले सुनसरीको देवानगञ्ज घटनापछि जिल्लासहित देशभरको परिस्थिति संवेदनशील बनेको उल्लेख गर्दै आन्दोलनभन्दा पनि वार्ता, संवाद र सहमतिमार्फत समस्या समाधान गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेको छ।
संघले सम्बन्धित पक्षहरूबीच आवश्यक सहजीकरण र मध्यस्थता गर्न आफू सधैँ तयार रहेको जनाउँदै उद्योगी तथा व्यवसायीको हकहित, व्यावसायिक वातावरणको संरक्षण तथा सहज व्यापारिक वातावरण निर्माणप्रति प्रतिबद्ध रहेको जनाएको छ।
ध्यानाकर्षण पत्रमा आन्दोलनरत पक्षलाई यथाशीघ्र वार्तामा आउन तथा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायलाई संवादको वातावरण सिर्जना गरी समस्या समाधानतर्फ पहल गर्न आग्रह गरिएको छ।
साथै, बजार तथा व्यवसाय सञ्चालनमा देखिएको अवरोध तत्काल अन्त्य गरी उद्योगी–व्यवसायी र आम नागरिकको दैनिक जनजीवन सहज बनाउन सबै सम्बन्धित पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा संघले जोड दिएको छ।
उक्त ध्यानाकर्षण पत्रमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ तथा निमित्त महासचिव एवं प्रचार तथा संगठन सचिव विष्णु बरालको हस्ताक्षर रहेको छ।





















Discussion about this post