काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा बहाव अवरुद्ध भई ठूलो ताल बनेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज २०८३ भदौ ११ गते बिहान ११ः४४ बजे प्राप्त Planet Labs र Landsat का स्याटेलाइट तस्बिर विश्लेषण गरी यस्तो प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भएको देखिएको छ। अवरुद्ध पानीका कारण करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलमा ताल बनेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाइएको छ।
प्राधिकरणले उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेको जनाएको छ। त्यसैले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन र उच्च सावधानीका साथ रहन आग्रह गरिएको छ।
यसअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा ल्हेन्दे खोलामा बनेको तालका कारण थप जोखिम उत्पन्न हुन सक्ने भन्दै सम्बन्धित निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ।
स्याटेलाइट तस्बिर Stimson Center को सौजन्यमा प्राप्त भएको जनाइएको छ। सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) र गृह मन्त्रालयसँग समेत समन्वय गरी सार्वजनिक गरिएको हो।




















Discussion about this post