काठमाडौ । नेपालका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दक्षिण कोरियामा रहेको श्रम संस्कृति प्रवास समितिले पीडित परिवारका लागि आर्थिक सहयोग गरेको छ।
समितिले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले १ करोड १० लाख ५ हजार १२८ कोरियन वन आर्थिक सहयोग रकम पठाएको जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब १० लाख ५ हजार ५ सय ६ रुपैयाँ बराबर रहेको पत्रमा उल्लेख छ।
समितिले रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा आएको बाढी तथा पहिरोका कारण अमूल्य मानवीय जीवन गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
समितिले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारलाई यो दुःख सहन सक्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भन्ने कामना गरेको छ।
पार्टीको एकता र प्रणालीलाई आत्मसात् गर्दै तत्काल पार्टीको आधिकारिक खातामा रकम संकलन गरी पीडित परिवारलाई केही राहत तथा सहयोग पु¥याउने उद्देश्यले समितिको तर्फबाट आर्थिक सहयोग रकम पठाइएको जनाएको छ।
प्राकृतिक विपत्तिमा परेका सम्पूर्ण पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापना हुनुपर्नेमा जोड दिँदै समितिले आगामी दिनमा यस्ता दुःखद् घटनाबाट सबैको सुरक्षा होस् भन्ने कामनासमेत गरेको छ।
समितिका सचिव दिप्सन किराँती र अध्यक्ष सुवास योङहाङद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त सहयोगबारे जानकारी गराइएको हो।





















Discussion about this post