रसुवाको बाढीमा ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन साहले सामाजिक सञ्जालमार्फत पछिल्लो विवरण सार्वजनिक गर्दै अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।

बाढी आएको छैटौँ दिनसम्म पनि सरकार खोज, उद्धार, उपचार, राहत तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा केन्द्रित रहेको प्रधानमन्त्री साहले बताएका छन्। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक संस्था तथा स्थानीय नागरिक परिचालित छन्।

उद्धार गरिएका घाइतेमध्ये विभिन्न अस्पतालमा उपचाररत २७९ जनामध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा खोजी जारी
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा समेत खोज तथा उद्धार जारी छ। नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरेको छ।

रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको छ। आयोजनाको सुरुङमा नेपाली र चिनियाँ उद्धार टोलीले खोजी गरे पनि थप मानिस नभेटिएपछि टोली फर्किएको छ।

त्यस्तै, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा उद्धार टोलीले खोजी जारी राखेको छ। नेपाली सेनासँगै भारतीय उद्धार टोली र नेपाली सहयोगीहरू सुरुङको मुख खोल्ने काममा परिचालित छन्।
मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जना तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ। माथिल्लो त्रिशूली–१ को सुरुङमा भने नेपाली सेना, कोरियन र चिनियाँ टोलीले खोजी गरिरहेका छन्।
नुवाकोटको माथिल्लो त्रिशूली–थ्री ए आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ९० जनाको टोली खोज तथा उद्धारमा परिचालित छ।

राहत वितरण तीव्र
सरकारले प्रभावित नागरिकका लागि राहत संकलन र वितरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। रसुवा, नुवाकोट र धादिङका चार वटा संकलन केन्द्रमार्फत संकलित राहत २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ प्रभावित नागरिकसम्म पुर्‍याइएको छ।
भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

सडक र विद्युत् सेवा पुनःस्थापनाको काम
बाढीका कारण अवरुद्ध नुवाकोटको त्रिशूलीपारिको सडक पुनः सञ्चालनमा आएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत विभिन्न स्थान हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालन भएपछि प्रभावित नागरिकलाई राहत, उद्धार तथा अत्यावश्यक वस्तु आपूर्तिमा सहज हुने भएको छ।

पुलहरू भत्किएका क्षेत्रमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। भारतले २३० फिटको मोडुलर स्टिल ब्रिज उपलब्ध गराउनुका साथै थप सात वटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। चीनबाट समेत ३० वटा बेलिब्रिज प्राप्त हुने जनाइएको छ।

विद्युत् सेवातर्फ नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत सेवा पुनःस्थापना भएको छ। रसुवामा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगेको र बाँकी क्षेत्रमा वैकल्पिक ऊर्जाका लागि पोर्टेबल सोलार पठाइएको छ।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आएका छन्।

९३९ शव फेला
बाढीमा ज्यान गुमाएकामध्ये हालसम्म ९३९ जनाको शव फेला परेको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
प्रधानमन्त्री साहले भोटेकोशीमा आएको बाढी सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन्। यस्तो घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको संकेत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायुजन्य विपद्को विषयलाई बलियो रूपमा उठाउनुपर्ने बताएका छन्।

सरकारले अब खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनामा समेत ध्यान केन्द्रित गर्ने जनाएको छ। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या, घर तथा भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन सुरु गरिएको प्रधानमन्त्री साहले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित