काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
आधिकारिक विवरणअनुसार आइतबार मात्रै ३ हजार ४५४ जना विपद् प्रभावितले अस्थायी आश्रय तथा राहत सेवा प्राप्त गरेका छन्। नुवाकोटमा १६ वटा आश्रयस्थल तथा शिविरमा २ हजार २७४ जना प्रभावितले आश्रय लिएका छन्।
विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका तथा विभिन्न गाउँपालिकाका विद्यालय, स्वास्थ्य चौकी, कवर्ड हल, वडा कार्यालय र सेफहाउस लगायतका स्थानलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ।
रसुवामा पनि १० वटा अस्थायी आश्रयस्थल सञ्चालनमा रहेका छन्। ती आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना विपद् प्रभावितले आश्रय लिएका छन्।
स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा आश्रयस्थल सञ्चालनमा छन्।
उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोट र रसुवाका विभिन्न स्थानमा मेडिकल टोली परिचालन गरिएको छ। रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेसीमा वीर अस्पतालको टोली तथा नेपाली सेना र सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी उपचारमा सक्रिय छन्।
भौगोलिक विकटताका कारण अधिकांश प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री वितरण गरिएको जनाइएको छ। राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको आधिकारिक विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा सुरक्षित स्थानमा राहत र औषधोपचार पुर्याउन स्थानीय प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित रहेका छन्।




















Discussion about this post