धरान । सिद्धि नेवाः परिषद् धरानको आयोजनामा आज धरानमा सामूहिक गाईजात्रा निकालिएको छ। यस वर्ष दिवंगत भएका धरानका ३६ जनाको सम्झनामा ३६ वटा गाई निकाल्दै नगर परिक्रमा गरिएको हो।
सिद्धि नेवाः परिषद्बाट सुरु भएको गाईजात्रा छाताचोक, नेपाल टेलिकम, पुरानो बजार हुँदै भानुचोकबाट पुनः परिषद् भवनमा पुगेर समापन गरिएको थियो।
गाईजात्राका क्रममा यस वर्ष भोटेकोशी हुँदै आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूप्रति समेत श्रद्धाञ्जली अर्पण गरिएको छ। सहभागीहरूले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
गाईजात्रा नेवार समुदायको परम्परागत सांस्कृतिक पर्व हो। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको प्रतीकका रूपमा सिँगारेर नगर परिक्रमा गराउने चलन छ।
गाईजात्राको सुरुआत मल्लकालीन राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। किंवदन्तीअनुसार पुत्रवियोगमा रहेकी रानीको शोक कम गर्न राजाले मृतक परिवारका तर्फबाट गाईजात्रा निकाल्न लगाएका थिए। पछि गाईजात्रामा हास्यव्यंग्य तथा सामाजिक विकृतिमाथि व्यंग्य गर्ने परम्परासमेत विकसित भएको मानिन्छ।
तर यस वर्ष धरानमा भने गाईजात्रा मनोरञ्जनभन्दा बढी दिवंगत आफन्तको सम्झना, सामूहिक शोक र भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने अवसर बनेको छ। ( तस्बिर : मोहन श्रेष्ठ )






















Discussion about this post