धरानमा मंगोल नेशनल अर्गनाइजेसनद्वारा विजयादशमी बहिष्कार कार्यक्रम सम्पन्न

धरान, सुनसरी। मंगोल नेशनल अर्गनाइजेसन धरान नगरसभाको आयोजनामा ‘२१औँ शताब्दी अहिन्दू मूलवासी मंगोल मुक्तिको शताब्दी हो’ भन्ने नारासहित विजयादशमी बहिष्कार कार्यक्रम–२०२६ सम्पन्न भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित मंगोल नेशनल अर्गनाइजेसनका जिल्ला अध्यक्ष टेकबहादुर कन्दङ्गवाको निवासमा आयोजित कार्यक्रममा सहभागीहरूले कालो टीका लगाएर विजयादशमी बहिष्कारको प्रतीकात्मक सन्देश दिएका थिए।

धरान नगर अध्यक्ष राजेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रान्तीय सभा सदस्य शान्ता राई प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा जिल्ला अध्यक्ष टेकबहादुर कन्दङ्गवा, जिल्ला सभाका प्रमुख सल्लाहकार हानबहादुर गुरुङ, जिल्ला सभा सचिव सन्देश राई तथा निवर्तमान अध्यक्ष दीपेन्द्र राईलगायत करिब ३० देखि ३५ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शान्ता राईले विजयादशमी बहिष्कार गर्नुको उद्देश्य कुनै समुदाय वा संस्कृतिप्रति विरोध जनाउनु नभई आफ्नो विचार, मान्यता र सांस्कृतिक पहिचान प्रस्तुत गर्नु रहेको बताइन्।
उनले विजयादशमीको दिनलाई मूलवासी मंगोल समुदायको संस्कार, संस्कृति तथा हक–अधिकार खोसिएको दिनका रूपमा आफूहरूले व्याख्या गर्दै आएको धारणा व्यक्त गरिन्। साथै, भावी पुस्तालाई आफ्नो इतिहास, भाषा, संस्कार, संस्कृति र पहिचानबारे जानकारी गराउन आवश्यक रहेकोमा जोड दिइन्।
देशमा बसोबास गर्ने सबै समुदायका नागरिकले समान रूपमा हक–अधिकार प्राप्त गर्नुपर्ने उल्लेख गर्दै राईले भाषा, संस्कार, संस्कृति र अस्तित्वको सम्मान सुनिश्चित हुनुपर्ने बताइन्। मंगोल नेशनल अर्गनाइजेसनले मानव अधिकारका विषयमा आवाज उठाउँदै आएको दाबी गर्दै उनले आफ्नो विचार र मान्यताअनुसार बहिष्कारको बाटो रोजेको स्पष्ट पारिन्।

सामाजिक सञ्जालमा आफूहरूलाई दशैँ मनाउनुपर्ने भन्दै विभिन्न दबाब आउने गरेको प्रसङ्ग उल्लेख गर्दै राईले प्रत्येक व्यक्तिलाई आफ्नो विचार र मान्यताअनुसार निर्णय गर्ने स्वतन्त्रता हुनुपर्ने धारणा राखिन्।

कार्यक्रममा सहभागीहरूले मूलवासी मंगोल समुदायको इतिहास, सांस्कृतिक पहिचान, भाषा तथा अधिकारका विषयमा समुदायस्तरमा सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विजयादशमी बहिष्कारमार्फत आफ्नो सांस्कृतिक मान्यता र पहिचानबारे धारणा सार्वजनिक गर्नु रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित