धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

नवीन सेन्चुरी
धरान । सर्वोच्च अदालतले गाँजा खेतीको विषयमा सरकारलाई परमादेश जारी गरिरहेकोबेला सुनसरीको धरानमा प्रहरीले दुई राउन्ड हवाई फायर गरी करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–२० चिहानडाँडामा सोमबार बिहान करिब ३ बजे दुईवटा स्कारपियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी हवल्दार हेमराज सुवेदीको टोलीले गोप्य सूचनाका आधारमा बा.१ च. ५०३८ र को.१ च. ८१८२ नम्बरका दुईवटा स्कारपियो गाडीमा छापा मारेको थियो।

प्रहरीका अनुसार आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा गाडीमा लोड भइरहेको अवस्थामा फेला परेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको जनाइएको छ।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्का तथा इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा कारोबारको सञ्जालबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित