धरान। गएराति नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा धरान–१३ निवासी ३४ वर्षीय चालक बिर्खबहादुर राई र झापाको दमक घर भई हाल धरानमा बसोबास गर्दै आएका ४४ वर्षीय प्राविधिक सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण, धरानले जनाएको छ।
त्यसैगरी, भ्यानमा सवार धरान–२० निवासी ३४ वर्षीय पवन राई घाइते भएका छन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्राधिकरणका अनुसार, बा १ ञ १६५१ नम्बरको भ्यान धरान क्षेत्रमा राति विद्युत् आपूर्तिमा समस्या आएपछि मर्मतका लागि धरानबाट तरहराको पानीपियातर्फ जाँदै थियो। सोही क्रममा चारकोसे जंगलस्थित सेउती खोला पुल पार गरेलगत्तै भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




















Discussion about this post