धरान । धरान–२ देशिलाइन क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनको माग गर्दै व्यवसायीहरूले गरेको सडक अवरोधका क्रममा प्रहरी हस्तक्षेप र धरपकड भएपछि धरान उपमहानगरपालिकाले अन्ततः सम्बन्धित पक्षहरूलाई छलफलका लागि बोलाएको छ।
उपमहानगरपालिकाले २०८३ साउन १४ गते जारी गरेको आधिकारिक पत्रमार्फत देशिलाइन क्षेत्रका स्थानीय, व्यवसायी तथा सरोकारवालालाई साउन १५ गते बिहान ७:०० बजे नगर कार्यपालिकाको सभाहलमा उपस्थित हुन आग्रह गरेको हो।
पत्रमा देशिलाइन क्षेत्रको विवादबारे उठेका माग, गुनासा र सरोकारप्रति उपमहानगरपालिका जानकार रहेको उल्लेख गर्दै स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित कानुन तथा संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारको सम्मान गर्दै संवाद, छलफल, सहकार्य र आपसी समझदारीबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, सुनसरी उद्योग वाणिज्य संघको उपस्थितिमा छलफल गरी समस्या समाधानतर्फ अघि बढ्ने जनाइएको छ।
यसअघि देशिलाइन क्षेत्रमा दुईतर्फी सवारी सञ्चालनको माग गर्दै व्यवसायीहरूले सडक अवरुद्ध गरेका थिए। त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको दृश्य देखिन्छ। आन्दोलनकारी पक्षले प्रहरीले लात्ती र बल प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
यस घटनापछि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र विक्रम बेघाले करिब ३० घण्टापछि औपचारिक छलफलको आह्वान गरेका हुन्।
उक्त छलफलबाट देशिलाइन क्षेत्रको यातायात व्यवस्थापन र व्यवसायीका मागबारे सहमति जुट्ने अपेक्षा गरिएको छ।





















Discussion about this post