धरानमा खुकुरी प्रहार प्रकरण : तीन पक्राउ, चार जना अझै फरार

नविन सेन्चुरी
धरान । धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाका मुख्य चार आरोपी भने अझै फरार रहेकाले उनीहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धरान–५ का ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार र २२ वर्षीय ससेस साह रहेका छन्। उनीहरू धरान–५ झरना चोकका २० वर्षीय निलकमल राईमाथि भएको खुकुरी आक्रमणमा संलग्न रहेको आरोप छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार पक्राउ परेका तीनै जना स्थानीय क्षेत्रमा रहेको एउटा टहरामा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। प्रारम्भिक सूचनाका आधारमा उनीहरू जंगलतर्फ लुकेको आशंका गरिए पनि पछि टहरामा सँगै बसेको अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस घटनामा संलग्न रहेको आरोप लागेका धरान–५ का जोनसेना (यकिन नाम खुल्न बाँकी), २० वर्षीय सुमन लिम्बू, १८ वर्षीय हनक राई तथा धरान–५ दशघरेका २४ वर्षीय किरण राई भने अझै फरार छन्। उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका निलकमल राईको ढाडमा गहिरो चोट लागेको छ। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित