धरान, साउन १८ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत धरानको QRT (क्विक रेस्पोन्स टिम) विघटन गरी सुरक्षा विभाग गठन प्रक्रिया सुरु गरिएको घोषणा गरेपछि त्यसको विरोधमा QRT का सदस्यहरूले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति आपत्ति जनाएका छन्।
हर्क साम्पाङले सोमबार फेसबुकमार्फत “आजैको मितिबाट QRT धरान विघटन गरिएको र श्रम संस्कृति सुरक्षा विभाग गठन प्रक्रिया सुरु गरिएको सबैलाई जानकारी गराउँदछु। जय माटो!” भन्दै सार्वजनिक घोषणा गरेका थिए।
उक्त घोषणापछि QRT का ३४ जना सदस्यहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूलाई कुनै छलफल वा परामर्शबिना QRT विघटनको घोषणा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विज्ञप्तिमा आफूहरू श्रम संस्कृति पार्टीको QRT टिमको जिम्मेवारीमा आबद्ध रही पार्टीको विधान र जिम्मेवारीअनुसार आफ्नो क्षमता, ज्ञान, समय तथा श्रमबाट योगदान दिँदै आएको उल्लेख गरिएको छ।
QRT सदस्यहरूले आफ्नोसँग कुनै सरसल्लाह वा छलफल नगरी, विधानमा व्यवस्था नभएको सुरक्षा विभाग गठन गर्ने घोषणा गर्नु विधानविपरीत तथा अलोकतान्त्रिक कदम भएको दाबी गरेका छन्।
उनीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै, अन्यथा QRT लाई पुनर्गठन गरी पार्टीलाई विधान, विधि र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गराउने अभियानमा सक्रिय हुने चेतावनी दिएका छन्।
प्रेस विज्ञप्तिमा पार्टीभित्र देखिएका विसंगति, स्वेच्छाचारिता तथा विधानविपरीत गतिविधिको भण्डाफोर गर्दै ‘पार्टी शुद्धीकरण अभियान’ सञ्चालन गर्ने जानकारी समेत दिइएको छ।
उक्त विज्ञप्तिमा ३४ जना QRT सदस्यहरूको हस्ताक्षर रहेको छ भने जानु चाम्लिङ संयोजकका रूपमा उल्लेख छन्।
यस विषयमा श्रम संस्कृति पार्टीको नेतृत्व वा अध्यक्ष हर्क साम्पाङको थप प्रतिक्रिया भने सार्वजनिक भएको छैन।





















Discussion about this post