धरान । धरान उपमहानगरपालिकाले भानुचोकको बसपार्कलाई स्मार्ट बसपार्कमा स्थानान्तरण गरेपछि उत्पन्न यातायात तथा व्यापारिक समस्याको समाधान गर्न उद्योगी–व्यवसायीहरूले १५ बुँदे माग अघि सारेका छन्।
साउन १ गते धरान उपमहानगरपालिकाको आह्वानमा भानुचोकमा भएका सवारीका साधनहरू नयाँ बनाइएको स्मार्ट बसपार्कबाट सञ्चालन गर्ने निर्णय हुँदा आफूहरू खुसी भए पनि त्यसपछि भानुचोक वरिपरि तथा देशीलाइन, पुतलीलाइन, महेन्द्रपथलगायतका क्षेत्रमा व्यापार व्यवसायमा ठूलो असर परेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले स्मार्ट बसपार्कबाट पहाडतर्फ जाने सवारी साधनलाई धरानको घण्टाघर अगाडिबाट यात्रु चढाउने तथा धरान आउँदा यात्रुलाई भानुचोकमा ओराल्ने व्यवस्था गर्न माग गरेका छन्।
उनीहरूले धरानको बजार व्यवसायलाई कसरी चलायमान बनाउने भन्ने विषयमा छलफल र सुझाव दिए पनि हालसम्म उपमहानगरपालिकाले ठोस पहल नगरेको भन्दै पुनः ध्यानाकर्षण गराएका छन्।
व्यवसायीका १५ बुँदे माग
१. धरानबाट पहाडतर्फ चल्ने सम्पूर्ण गाडीलाई भानुचोकको घण्टाघर अगाडिबाट यात्रु चढाउने र पहाडबाट फर्किएका सवारीले भानुचोकमा यात्रु ओरालेर आफ्नो गन्तव्यमा जाने व्यवस्था गर्नुपर्ने।
२. धरानका घरधनीलाई नगरपालिकाको पहलमा भेटघाट गराई अहिलेको परिस्थितिअनुसार व्यापार व्यवसाय घटेकाले घरभाडा घटाउन तथा घरधनी र घरबहालमा लिने दुवैको हित हुने गरी नगरपालिकाले घरभाडा निर्देशिका तयार गर्नुपर्ने।
३. देशीलाइनका उद्योगी–व्यापारीले उठाएको दुईतर्फी सवारी साधन सञ्चालनको मागलाई सम्बोधन गर्नुपर्ने।
४. धरानको आर्थिक चलायमानताका लागि पुरानो अस्पतालको जग्गा प्राप्त भइसकेकाले तुरुन्त नगर अस्पताल सञ्चालनमा ल्याउनुपर्ने।
५. भानुचोकदेखि स्मार्ट बसपार्कसम्म तथा स्मार्ट बसपार्कदेखि भानुचोकसम्म सटल बस सञ्चालन गर्नुपर्ने। नगरबस सञ्चालन गर्न नगरपालिकाले आफैं वा सिटी सफारी/अटो संघमार्फत सञ्चालनको जिम्मा दिएमा नगरबस ल्याउन ५ लाख रुपैयाँसम्म अनुदान र तीन महिनासम्म दैनिक २० लिटर इन्धन उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
६. सटल बस र नगरबस सञ्चालन नहुँदासम्म स्मार्ट बसपार्कबाट छुटेका गाडीलाई भानुचोक, छाताचोक, लक्ष्मी सडक हुँदै पुरानो बजार, सिद्धिविनायक चोक, माछाभौडी हुँदै गन्तव्यमा जाने व्यवस्था मिलाउनुपर्ने।
७. भानुचोकको कुनै एक क्षेत्रमा सशुल्क पार्किङको व्यवस्था गरी विभिन्न स्थानबाट आएका पर्यटक तथा अन्य सवारीलाई पार्किङ गर्ने व्यवस्था मिलाउनुपर्ने।
८. हाल भानुचोकमा छरिएर रहेका विभिन्न सिटी तथा अटोलाई एकीकृत गरी उनीहरूको गन्तव्यअनुसार छुट्टाछुट्टै स्थानबाट छुट्ने व्यवस्था मिलाउनुपर्ने।
९. हालको बजार व्यवसाय घटेकाले नगरपालिकाले लिने व्यवसाय कर, सम्पत्ति करलगायत विभिन्न करमा छुटको व्यवस्था गर्नुपर्ने।
१०. धरानमा कुनै पनि ढुवानीको अफिस नभएकाले विभिन्न ठाउँबाट आउने ढुवानीका सामान इटहरीमा अनलोड गरी पुनः धरान ल्याउँदा सामान महँगो पर्ने भएकाले धरानमै एउटा ढुवानी कार्यालयको व्यवस्था गर्नुपर्ने।
११. धरान महँगो सहरको रूपमा कुख्यात भएको भन्दै त्यसलाई चिर्न नगरपालिकाले सुनसरी उद्योग वाणिज्य संघसँग संयुक्त रूपमा पहल गर्नुपर्ने।
१२. घण्टाघर अगाडिको खाली जग्गामा पहिले पनि नगरपालिकाको आम्दानीको स्रोतका रूपमा सपिङ कम्प्लेक्स बनाउने अवधारणा रहेकाले अब मल्टीपार्कको अवधारणालाई अगाडि बढाउँदै उक्त स्थानमा सपिङ कम्प्लेक्स, गार्डेन, रेस्टुरेन्ट, तल बैंकिङ क्षेत्र तथा तल मार्केट बनाउने योजना अघि सार्नुपर्ने।
१३. भानुचोकमा खाली रहेका तीन क्षेत्रमध्ये एक क्षेत्रमा पहाड चल्ने साना सवारी साधन सञ्चालन गर्नुपर्ने।
१४. उद्योगी–व्यवसायीले आफ्नो पसल, उद्योग वा व्यवसायका लागि लगाएको साइनबोर्डको आकार जति भए पनि आफ्नो स्थानमा राखिएको साइनबोर्डको रकम नगरपालिकाले नलिने तर कसैले विज्ञापन गरेको भए मात्र त्यस्तो बोर्डको रकम लिन पाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
१५. धराननगरमा रहेका विभिन्न सिटी सफारी र अटोलाई व्यवस्थित गर्न पठाओजस्ता एपमा सम्पूर्णलाई समेटेर सिटी सफारी तथा अटोको समस्या केही हदसम्म समाधान गर्नुपर्ने।
विभिन्न निकायलाई बोधार्थ
स्मरणपत्रको बोधार्थ सुनसरी उद्योग वाणिज्य संघ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ कोशी प्रदेश, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक कार्यालय धरान तथा धरानका विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई दिइएको छ।
व्यवसायीहरूले उपमहानगरपालिकाले तत्काल माग सम्बोधन नगरे धरानको व्यापार व्यवसाय थप प्रभावित हुने चेतावनीसमेत दिएका छन्। उनीहरूले यातायात व्यवस्थापनसँगै भानुचोक तथा आसपासको बजारलाई पुनः चलायमान बनाउने ठोस योजना आवश्यक रहेको बताएका छन्।






















Discussion about this post