धरान । धरान उपमहानगरपालिकाको नगरसभा आगामी साउन २८ गते बस्ने भएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरसभा बोलाउने निर्णय गर्दै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
कार्यपालिकाको बैठकले यसअघि पेश भएको नीति तथा कार्यक्रमलाई स्वीकृत गरी आगामी नगरसभाबाट अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको हो। नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि करिब २ अर्ब रुपैयाँको बजेट पेश गर्ने तयारी गरिएको छ।
कार्यपालिका बैठकमा आर्थिक विधेयक, २०८३ तथा विनियोजन विधेयक, २०८३ नगरसभाबाट स्वीकृत गराउन पेश गर्ने निर्णयसमेत भएको छ। आर्थिक विधेयक तयार गर्दा कर तथा गैरकरको दर र राजस्व नीतिसँग सम्बन्धित प्रस्तावमा राजस्व परामर्श समिति तथा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त सिफारिसलाई आधार बनाइएको जनाइएको छ।
त्यस्तै बैठकले न्यायिक समिति र सार्वजनिक लेखा समितिले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कार्यसम्बन्धी वार्षिक प्रगति प्रतिवेदन पनि नगरसभामा पेश गर्ने निर्णय गरेको छ।
कार्यपालिका बैठकले कर्मचारीको तह वृद्धि तथा बढुवा, सर्दु पाखामा रहेका रुख व्यवस्थापन, नयाँ बसपार्कको सवारी पार्किङ तथा सरसफाइ शुल्क निर्धारण, टेम्पो तथा ई–रिक्साको वार्षिक पार्किङ शुल्क र घरको नक्सा दस्तुर छुटलगायतका विषयमा समेत निर्णय गरेको छ।




















Discussion about this post