काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले ‘जनआस्था’ नामक सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्वीर प्रयोग गरी आपत्तिजनक तथा आधारहीन सामग्री प्रकाशन गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।
उपसभामुख कुमारीले २०८३/०४/२७ गते प्रेस काउन्सिल नेपाललाई सम्बोधन गर्दै दिएको निवेदनमा ‘जनआस्था’को सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्वीर प्रयोग गरी प्रकाशित सामग्रीप्रति गम्भीर आपत्ति जनाएकी हुन्।
निवेदनमा उक्त सामग्रीमा तथ्य, प्रमाण र विश्वसनीय स्रोतबिना भ्रामक तथा आधारहीन ढंगले आफ्नो व्यक्तिगत पद, प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामाथि प्रश्न उठाउने किसिमका विषयवस्तु प्रस्तुत गरिएको दाबी गरिएको छ। यस्तो सामग्रीले आफ्नो सार्वजनिक प्रतिष्ठामा गम्भीर क्षति पुग्नुका साथै मानसिक तनाव र सामाजिक रूपमा समेत नकारात्मक असर सिर्जना गरेको उपसभामुख कुमारीको भनाइ छ।
पत्रकारिताको नाममा कुनै व्यक्तिको प्रतिष्ठा, चरित्र र सार्वजनिक मर्यादामाथि आधारहीन आरोप, संकेत वा उत्तेजक प्रस्तुति गर्ने छुट कानुन तथा पत्रकारिता आचारसंहिताले नदिने उल्लेख गर्दै उनले सामग्रीमा समेटिएका आरोप तथा दाबीको स्रोत, प्रमाण र आधारबारे निष्पक्ष, गम्भीर र प्रभावकारी छानबिन गर्न प्रेस काउन्सिलसँग आग्रह गरेकी छन्।
छानबिनका क्रममा पत्रकारिता आचारसंहिता तथा प्रचलित कानुन उल्लङ्घन भएको पुष्टि भए ‘जनआस्था’का सञ्चालक/सम्पादक किशोर श्रेष्ठ तथा संलग्न अन्य जिम्मेवार व्यक्तिमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि सिफारिस गर्न पनि उनले माग गरेकी छन्।
त्यसैगरी, उक्त सामग्रीको भाषा, प्रस्तुति तथा प्रभावका कारण कुनै व्यक्तिलाई आत्महानी वा आत्महत्या गर्न दुरुत्साहन वा उक्साहट हुने अवस्था सिर्जना भएको देखिएमा त्यसबारे समेत गम्भीर छानबिन गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन उनले अनुरोध गरेकी छन्।
उजुरीसँगै विवादित सामग्रीको स्क्रिनसट, लिङ्क तथा आवश्यक प्रमाणहरू संलग्न गरिएको पत्रमा उल्लेख छ।
उपसभामुख कुमारीले विषयको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न तथा आफ्नो प्रतिष्ठा र कानुनी अधिकारको संरक्षणका लागि प्रभावकारी कदम चाल्न प्रेस काउन्सिलसँग आग्रह गरेकी छन्।





















Discussion about this post