दिल्ली पब्लिक स्कुलविरुद्ध बाल सञ्जालको उजुरी, ७२ घण्टाभित्र छानबिन गर्न माग

धरान । धरान नगर बाल सञ्जालले धरानस्थित दिल्ली पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीहरूसँग सम्बन्धित आर्थिक अनियमितता, विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहार तथा गोपनीयता भङ्गको आरोपबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
सञ्जालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) का उपकुलपतिलाई निवेदन बुझाउँदै विद्यालयमा प्रमाणपत्र (Certificate) बापत तोकिएको शुल्कभन्दा बढी रकम असुल गरी व्यक्तिगत बैंक खातामा जम्मा गर्न लगाइएको तथा विद्यार्थीलाई वितरण गरिएका पुस्तकको वास्तविक मूल्य मेटेर वा परिवर्तन गरी बढी रकम असुल गरिएको आरोपबारे छानबिन गर्न माग गरेको हो।

निवेदनमा केही विद्यार्थीले आफूहरूमाथि मानसिक दबाब, दुर्व्यवहार तथा ह्यारासमेन्ट भएको गुनासोसमेत गरेको उल्लेख छ। यसअघि पनि विद्यार्थी तथा सम्बन्धित पक्षबाट उपकुलपति समक्ष गुनासो राखिएको र आवश्यक अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाइएको भए पनि हालसम्म प्रभावकारी र पारदर्शी छानबिन तथा कारबाही अघि नबढेको सञ्जालको भनाइ छ।

सञ्जालले उजुरीकर्ताको पहिचान गोप्य राख्न भनिए पनि सामाजिक सञ्जालमार्फत सम्बन्धित विद्यार्थीलाई धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने तथा चरित्र हत्या गर्ने प्रयास भइरहेको गम्भीर जानकारी प्राप्त भएको जनाएको छ। यसले विद्यार्थीको सुरक्षा, मानसिक स्वास्थ्य तथा बालअधिकारमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै तत्काल हस्तक्षेपको माग गरिएको छ।

सञ्जालले निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन, विद्यार्थीमाथि भएको भनिएको ह्यारासमेन्ट तथा दुर्व्यवहारमा दोषी पाइए कानुनबमोजिम कारबाही, विद्यार्थीको व्यक्तिगत विवरण पूर्ण रूपमा गोप्य राख्नुपर्ने, सामाजिक सञ्जालमार्फत धम्की तथा चरित्र हत्यामा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।

त्यस्तै, प्रतिष्ठानको तर्फबाट हालसम्म भएको अनुसन्धान तथा कारबाहीको यथार्थ विवरण उपलब्ध गराउन पनि माग गरिएको छ।

निवेदन प्राप्त भएको मितिले ७२ घण्टाभित्र आवश्यक छानबिन तथा कारबाहीको प्रक्रिया औपचारिक रूपमा अघि नबढाइए विद्यार्थीको हक, हित, सुरक्षा तथा न्यायका लागि धरान नगर बाल सञ्जालले शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

निवेदन शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुनसरी तथा सम्बन्धित अन्य निकायलाई समेत बोधार्थ दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित