धरान, साउन ३० । भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय (पीपीओ) धरानले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाएको छ।
शनिबार आयोजित कार्यक्रममा पीपीओ धरानका प्रभारी अधिकारी मेजर निश्चय चहलले भारतको राष्ट्रिय झण्डा फहराउँदै वीर सहिदहरूको सम्मानमा शहीद स्मारकमा माल्यार्पण गरेका थिए। कार्यक्रममा कार्यालयका गतिविधि तथा पूर्व भारतीय सैनिक र उनीहरूका आश्रित परिवारका लागि प्रदान हुँदै आएका सेवाबारे जानकारीसमेत गराइएको थियो।
पीपीओ धरानले पूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरणसँगै विभिन्न सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कार्यालयले कोशी प्रदेशका विभिन्न पहाडी तथा तराईका जिल्लामा समय–समयमा मौसमी शिविर सञ्चालन गर्दै आएको जानकारी दिइएको छ। कार्यालयका अनुसार हाल विभिन्न २१ स्थानमा मौसमी शिविर सञ्चालन हुँदै आएका छन्।
कार्यक्रममा वीरनारी तथा पेन्सनरहरूको स्तरउन्नति र जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले कम्प्युटर, सिलाइबुनाइ तथा ब्युटी पार्लरलगायतका सीपमूलक तालिम सञ्चालन गरिएको जानकारी दिइयो।
त्यसैगरी, पूर्व भारतीय सैनिक तथा आश्रित परिवारलाई स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले ECHS (Ex-Servicemen Contributory Health Scheme) अन्तर्गत विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी सुविधा विस्तार गरिएको बताइएको छ। भोजपुरमा ECHS शाखा तथा इलाममा ECHS मोबाइल पोलिक्लिनिक स्थापना गरी सेवा प्रदान भइरहेको जानकारी दिइयो।
कार्यक्रममा पीपीओ धरानका गतिविधि र उपलब्ध सेवाका बारेमा जानकारी दिँदै भारतीय राजदूतावास तथा पेन्सन वितरण कार्यालयले पूर्व भारतीय सैनिकका लागि विभिन्न बैंकिङ तथा अन्य सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र विक्रम बेघाले पीपीओ धरानको आतिथ्य स्वीकार गर्दै भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे। उनले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र आपसी सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी, धरानस्थित विभिन्न सरकारी तथा सुरक्षा निकायका अधिकारी, भारतीय पूर्व सैनिक, पेन्सनर, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकको उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा वीरगति प्राप्त गरेका सैनिक परिवारका सदस्यहरूलाई सम्मान गर्नुका साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति दिएका थिए। भारतीय राजदूतावास र पेन्सन वितरण कार्यालयले आयोजना गर्ने नियमित कार्यक्रमअन्तर्गत यस वर्ष पनि विभिन्न स्थानबाट विद्यार्थी तथा पूर्व सैनिक परिवारका सदस्यहरूको सहभागिता रहेको जनाइएको छ।



























Discussion about this post