काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै अन्य जिल्लाबाट समेत थप सुरक्षा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपछिको उद्धार तथा राहतसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी दिँदै विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको बताएका छन्।
उनका अनुसार मेडिकल टोली, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका कदम अघि बढाइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया समेत अघि बढाइएको जनाइएको छ।
त्यस्तै, तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ। प्रभावित तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई एसएमएस र फोनमार्फत सूचना दिँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको प्रधानमन्त्री साहले बताएका छन्।
सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ भने निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ।
बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन केही समयमै उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री साहले बताएका छन्।
उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट आउने उद्धारसम्बन्धी आधिकारिक अपडेट कुर्न आग्रह गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ।




















Discussion about this post