रसुवा बाढीपीडितलाई प्रधानमन्त्री बालेन साहको अपिल : उद्धार, उपचार र राहतमा सरकार प्रतिबद्ध

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रधानमन्त्री बालेन साहले दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा सरकार सम्पूर्ण शक्ति र स्रोतसाधनसहित प्रभावित नागरिकको साथमा रहेको बताएका छन्।
प्रधानमन्त्री साहले बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनका अनुसार बाढीको खबर प्राप्त हुनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीले बताएका छन्।

घाइतेहरूको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा मेडिकल टोली, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठन, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब लगायतका संस्थासँग समेत उद्धार, स्वास्थ्य सेवा, औषधि तथा रक्त व्यवस्थापनका लागि समन्वय भइरहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री साहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्र रहेका छन्। ती क्षेत्रमा पीडित परिवारलाई खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने प्रधानमन्त्री साहले बताएका छन्।
उनले बाढी प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै भनेका छन्, “यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ।”

प्रधानमन्त्रीले रातभर उद्धार तथा खोजी कार्य जारी रहने बताउँदै बेपत्ता नागरिकको खोजीलाई थप तीव्र पारिने जानकारी दिएका छन्। साथै सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन्।
“हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ,” प्रधानमन्त्री साहले अपिलमा भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित