भोटेकोशी बाढीबारे नेपाल सरकारको अहिलेसम्मको विवरण सार्वजनिक, ९५ जनाको शब फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाल सरकारले खोज, उद्धार, उपचार तथा राहतलाई तीव्रता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोटसहित तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

सरकारको प्रारम्भिक विवरणमा ९५ जनाको शव फेला परेको र सनाखत हुन बाँकी रहेको उल्लेख गरिएको थियो। साथै बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीका २५ जना प्रहरी तथा सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको थियो।

त्यसैगरी प्रभावित क्षेत्रमा रहेका ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटक, विभिन्न विद्युत् आयोजनामा कार्यरत ५० जना कर्मचारी तथा रसुवागढी भन्सार र अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्रारम्भिक सरकारी विवरणमा उल्लेख छ।
बाढीका कारण १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको तथा मानवीय र भौतिक क्षतिको थप विवरण संकलन भइरहेको सरकारले जनाएको छ।

खोज तथा उद्धार तीव्र
बाढीको सूचना प्राप्त भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उच्चस्तरीय ‘र्‍यापिड एक्सन टिम’ परिचालन गरिएको थियो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गरी रसुवा र नुवाकोटमा खोज तथा उद्धार अघि बढाइएको छ। नेपाली सेनाले टिमुरे, स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट प्रभावित नागरिकको उद्धार गरेको जनाएको छ।
सरकारले प्रदेश, जिल्ला र स्थानीय तहका विपद् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्कतामा राख्दै प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ। सबै हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो।

स्वास्थ्य उपचारको व्यवस्था
उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालसहित वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अन्य स्वास्थ्य संस्थामा स्वास्थ्य टोली परिचालन गरिएको छ।
सरकारका अनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा घाइतेको निःशुल्क उपचारका लागि डेडिकेटेड शय्या छुट्याइएको छ। नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनबाट समेत थप स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। रक्त अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा स्काउटसँग समन्वय गरिएको छ।

बाढीबाट घाइते २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको र ३६ जनालाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको सरकारी विवरणमा उल्लेख छ।

बाढीको जोखिम अझै कायमै
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा पानीको निकास पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ। त्यसैले अर्को सूचना जारी नभएसम्म नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

सरकारले रसुवा, नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्रलाई विशेष निगरानीमा राखेको छ। तत्कालका लागि घाइतेको उद्धार तथा उपचार, सम्पर्कविहीन नागरिकको खोजी, प्रभावितलाई राहत, थप क्षतिको विवरण संकलन, क्षतिग्रस्त सडक–पुल तथा जलविद्युत् र सञ्चार संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको छ।

पछिल्लो अपडेटमा मानवीय क्षति अझ बढेको
प्रधानमन्त्री कार्यालयको प्रारम्भिक विवरण सार्वजनिक भएपछिको पछिल्लो अपडेटमा भने नेपाल प्रहरीले साँझ ५ः४५ बजेसम्म विभिन्न जिल्लामा ९५ जनाको शव फेला परेको जनाएको छ। यसले प्रारम्भिक १५ जनाको विवरणभन्दा मानवीय क्षति निकै बढेको देखाउँछ।

यसैबीच, बाढीबाट १९ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको तथा जलविद्युत् क्षेत्रमा समेत ठूलो क्षति भएको पछिल्लो विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदहरूसँग छलफल गरी उद्धार, राहत तथा तटीय बस्तीको अवस्थाबारे जानकारी लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित