चितवन । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण बगेर आएको मृतकको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ साल असोज १९ गते बिहान करिब ८ः३५ बजे भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवलाई अमानवीय व्यवहार गर्दै मृतकको कानबाट मुन्द्रा चोरी गरेको भिडियो प्रहरी कार्यालयमा प्राप्त भएको थियो।
उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मृतकको शरीरबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नवलपरासी विनय त्रिवेणी गाउँपालिका–८ घर भई हाल भरतपुर महानगरपालिका–९, लीला चोक मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी चाँदबेला नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
उनीहरूलाई भरतपुर महानगरपालिका–९ पोखरा बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले विपद्को समयमा मृतकको शवप्रति समेत अमानवीय व्यवहार गरी चोरी गर्ने कार्यमा संलग्न व्यक्तिमाथि कानुनी अनुसन्धान अघि बढाएको जनाएको छ।





















Discussion about this post