काठमाडौं । प्रधानमन्त्री बालेन साहले बाढीपहिरो प्रभावित नुवाकोटसहित रसुवा र धादिङका क्षेत्रमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्।
बिहीबार नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका प्रधानमन्त्री साहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।
उनका अनुसार अहिले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्नु रहेको छ।
खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। यसमध्ये नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना रहेका छन्।
प्रधानमन्त्रीका अनुसार बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ भने निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको छ।
हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको र करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत राहत सामग्री १० ट्रक पठाइएको तथा थप सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ।
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र अन्य आधारभूत सेवाको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्थासमेत उद्धार तथा राहतमा परिचालित भएका छन्। रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
स्वास्थ्यतर्फ स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ।
घाइते तथा प्रभावित नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको र आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।
यसैगरी राहत सामग्रीको आपूर्ति व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकलाई मुख्य संकलन केन्द्रका रूपमा प्रयोग गरिएको छ।
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम/ढुंगा काट्ने मेसिनरीलगायत अत्यावश्यक सामग्री पठाइँदैछ। विपद् व्यवस्थापनमा प्रयोग हुने BHISHMA CUBE फिल्ड अस्पताल सेट समेत त्रिशूलीतर्फ पठाइएको छ।
दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर/साइट बन्द भएको जनाइएको छ। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याई सेवा पुनःस्थापनाको काम भइरहेको छ।
प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल तथा एनसेलले समेत निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको प्रधानमन्त्रीको भनाइ छ।
सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःसञ्चालन गर्न सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षति मूल्यांकन तथा पुनःस्थापनाको काम तीव्र बनाउन निर्देशन दिइएको छ।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन पनि आवश्यक व्यवस्था गरिएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको तथा थप डिजल १५ हजार र पेट्रोल १५ हजार लिटर पठाइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ।
वास्तविक क्षतिको अवस्था पहिचान गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ। यसबाट फसेका नागरिक, अवरुद्ध सडक र पहुँचको अवस्थाको पहिचान गरी उद्धार तथा राहतलाई थप लक्षित बनाइने जनाइएको छ।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्रधानमन्त्री साहले संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।
मृतकका परिवारलाई प्रचलित कानूनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनको काम व्यवस्थित रूपमा अघि बढाइएको उनले बताएका छन्।
विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ। भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय रेडक्रसलगायतका साझेदारसँग आवश्यक सहयोग तथा समन्वय भइरहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री साहले उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने बताएका छन्। “यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ,” भन्दै उनले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार, तत्काल राहत, सुरक्षित बसोबास र क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनालाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको बताएका छन्।




















Discussion about this post