काठमाडौं। गृह मन्त्रालयले तिहार पर्वका अवसरमा सञ्चालन हुने देउसी–भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले २०८३ कात्तिक २३ गते जारी गरेको पत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक एवं परम्परागत पर्व तिहारका अवसरमा २४सै घण्टा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दा आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय अपनाउन अनुरोध गरेको हो।
मन्त्रालयले यसअघि २०८३ असोज २४ गते जारी गरेको सूचनाको समेत पूर्ण पालना गर्न आग्रह गरेको छ।
निर्देशनअनुसार नेपाली मौलिक कला तथा संस्कृतिलाई प्रोत्साहन गर्दै सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। कार्यक्रम स्वेच्छिक र मर्यादित हुनुपर्ने तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने व्यवस्था मिलाउन भनिएको छ।
त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत तथा नारा प्रयोग गर्न नदिन पनि मन्त्रालयले निर्देशन दिएको छ।
तिहार मनाउने क्रममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने कार्य रोक्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
त्यसैगरी, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्नसमेत निर्देशनमा उल्लेख छ।
देउसी–भैलो सञ्चालन वा तिहार मनाउने क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या परेमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले नागरिकलाई अनुरोध गरेको छ।
मन्त्रालयले तिहारको सांस्कृतिक परम्परा संरक्षणसँगै शान्ति सुरक्षा, सामाजिक सद्भाव र नागरिकको सुरक्षालाई ध्यानमा राखेर पर्व मनाउन आग्रह गरेको छ।





















Discussion about this post