काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालले पछिल्लो दस वर्षमा विद्युत् उत्पादन क्षेत्रमा ऐतिहासिक प्रगति हासिल गरेको उल्लेख गर्दै अब उत्पादित विद्युत्लाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्।
२०७३ सालअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै घिसिङले त्यसबेला तिहारजस्तो उज्यालोको पर्वसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको बताएका हुन्।
२०७३ सालको लक्ष्मीपूजाका दिनदेखि लोडसेडिङ अन्त्य गर्ने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले दृढ इच्छाशक्ति, कुशल व्यवस्थापन, सामूहिक मेहनत र आमनागरिकको सहयोगबाट लोडसेडिङ अन्त्य गर्न सफल भएको बताएका छन्।
घिसिङका अनुसार नेपालमा जलविद्युत् उत्पादन सुरु भएको १०५ वर्षमा अर्थात् २०७३ सालसम्म विद्युत् उत्पादन क्षमता करिब ८०० मेगावाट पुगेको थियो। तर त्यसपछिका दस वर्षमै जलविद्युत् र सौर्य ऊर्जासहित कुल उत्पादन क्षमता बढेर करिब ४ हजार २०० मेगावाट पुगेको छ।
त्यस्तै, थप ७ हजारदेखि ८ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू विभिन्न चरणमा निर्माणाधीन रहेको उनले बताएका छन्। नेपालले अहिले भारत र बंगलादेशसम्म विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
तर, विद्युत् उत्पादन क्षमता बढेसँगै उत्पादित विद्युत्को उपयोग र बजार व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको घिसिङले औँल्याएका छन्।
उनका अनुसार यस वर्षको लक्ष्मीपूजाको उच्च मागको समयमा समेत करिब ५०० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्दा थप करिब ५०० मेगावाट विद्युत् खेर जाने अवस्था आएको थियो। त्यस्तै, राति र दिउँसो न्यून माग हुने समयमा निर्यातपछि पनि एक हजार मेगावाटभन्दा बढी विद्युत् खेर जाने अवस्था देखिएको उनले उल्लेख गरेका छन्।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण करिब ५०० मेगावाट क्षमताका जलविद्युत् उत्पादन केन्द्रसमेत बन्द अवस्थामा रहेको उनको भनाइ छ।
निर्यात स्वीकृति र आन्तरिक खपत विस्तारमा जोड
विद्युत् निर्यातका लागि आवश्यक आयोजनागत स्वीकृति समयमै प्राप्त हुन नसक्दा उत्पादित विद्युत् खेर जाने र देशले करोडौँ रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाउनुपर्ने अवस्था चिन्ताजनक रहेको घिसिङले बताएका छन्।
यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको वर्तमान नेतृत्वले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। भारततर्फ विद्युत् निर्यातका लागि आवश्यक आयोजनागत सहमति तथा स्वीकृति समयमै प्राप्त गर्न प्रभावकारी पहल र समन्वय गर्नुपर्ने उनले बताएका छन्।
साथै, विद्युत् निर्यातका लागि नयाँ बजार विस्तार गर्नुका साथै स्वदेशमै विद्युत् खपत बढाउने योजनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।
आगामी वर्षहरूमा थप हजारौँ मेगावाट विद्युत् उत्पादन हुने भएकाले आन्तरिक खपत विस्तार, निर्यात बजारको सुनिश्चितता र आवश्यक प्रसारण पूर्वाधार विकासमा अहिलेदेखि नै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने घिसिङको धारणा छ।
‘हिजो हामीले लोडसेडिङको अँध्यारो हटायौँ। अब उत्पादित विद्युत्को एक–एक युनिटलाई देशको आम्दानी, रोजगारी र आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्छ,’ घिसिङले भनेका छन्।
दस वर्षमा हासिल भएको उपलब्धिलाई थप उचाइमा पुर्याउन सबै पक्षको सामूहिक प्रयास, जिम्मेवारीबोध र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै उनले अब उज्यालोलाई आर्थिक समृद्धिमा बदल्ने समय आएको बताएका छन्।























Discussion about this post