काठमाडौं । कोशी प्राइड लिग (KPL) ले टिम स्वामित्व तथा फ्रेन्चाइज अधिकारका लागि बोलपत्र आह्वान गरेको छ। आयोजक K.P.L. Group Pvt. Ltd. ले योग्य कम्पनी, व्यवसायिक समूह तथा संघसंस्थालाई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत टोली स्वामित्वका लागि आवेदन दिन आह्वान गरेको हो।
KPL ले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक कम्पनी तथा संस्थाले पाँच वर्षका लागि टिम स्वामित्व तथा फ्रेन्चाइज अधिकार प्राप्त गर्न बोलपत्र पेश गर्न सक्नेछन्।
बोलपत्रसम्बन्धी नियम, शर्त तथा आवेदन फाराम प्राप्त गर्न रु. १० हजार गैर–फिर्ता हुने शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक आवेदकले अनलाइनमार्फत आवेदन तथा बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ।
बोलपत्र पेश गर्ने अन्तिम मिति १४ सेप्टेम्बर २०२६ राति ११ः५९ बजे तोकिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार बोलपत्र पेश गर्नु वा आवेदन शुल्क बुझाउनु मात्रले टोली स्वामित्व प्राप्त हुने सुनिश्चितता भने गर्दैन। प्राप्त बोलपत्रको मूल्यांकनपछि टोली मालिकको अन्तिम छनोट तथा टोली बाँडफाँट KPL बोर्डले गर्नेछ।
KPL का अनुसार फ्रेन्चाइज स्वामित्वको अवसरले व्यवसायिक समूह तथा ब्रान्डहरूलाई क्रिकेटसँग प्रत्यक्ष रूपमा जोडिनुका साथै खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी, व्यवसाय विस्तार र ब्रान्ड प्रवर्द्धनको अवसर प्रदान गर्नेछ।
कोशी प्रदेशमा क्रिकेटको विकास तथा ग्रासरुट कार्यक्रमलाई थप मजबुत बनाउने उद्देश्यसहित सञ्चालन हुँदै आएको KPL ले यसअघि सिजन–१ र सिजन–२ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै, लिगले हालै KPL कप समेत आयोजना गरेको थियो।
इच्छुक कम्पनी, व्यवसायिक समूह तथा संघसंस्थाले बोलपत्र तथा आवेदनसम्बन्धी विस्तृत जानकारी KPL को आधिकारिक वेबसाइट web.kplt20.org बाट प्राप्त गर्न सक्नेछन्। थप जानकारीका लागि info@kplt20.org मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




















Discussion about this post