धरान । नेकपा एमाले धरान नगर कमिटीले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक लाई सरकारले प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कडा विरोध जनाएको छ ।
आइतबार एमाले धरानले इलाका प्रशासन कार्यालय धरान–१३ का प्रमुख फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका नेताहरूको बिना सर्त तत्काल रिहाइको माग गरेको हो ।
नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले ज्ञापनपत्र हस्तान्तरण गर्दै चैत १४ गते शनिबार बिहान गरिएको पक्राउलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भएको आरोप लगाए । उनले भने, “यो गिरफ्तारीले लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत काम गरेको छ, जसको हामी घोर भर्त्सना गर्दछौँ ।”
एमाले धरानले विगतका घटनाहरूको छानबिनका लागि गठन गरिएका आयोगहरू विवादित रहेको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
संविधान, लोकतन्त्र र मानवअधिकारप्रति प्रतिबद्ध दलहरू र आम नागरिकलाई चिन्तित बनाउने यस्ता गतिविधि तत्काल रोक्न पनि एमाले धरानले सरकारसँग आग्रह गरेको छ ।




















Discussion about this post