धरान । धरान उपमहानगरपालिकाको कार्यालयमा भएको विद्यार्थी आन्दोलनका क्रममा चर्चामा आएको **‘फिनेल भनिएको काण्ड’**बारे निष्पक्ष छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न नागरिक अभियानले माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृह मन्त्रालयसमक्ष बुझाइएको ज्ञापनपत्रमा घटनालाई लिएर नागरिकस्तरमा गम्भीर प्रश्न, आशंका र चासो उत्पन्न भएको भन्दै तत्काल स्वतन्त्र तथा शक्तिशाली छानबिन समिति गठन गर्न माग गरिएको हो।
ज्ञापनपत्रमा विद्यार्थी आन्दोलनका क्रममा प्रयोग भएको भनिएको पदार्थ, घटनाको वास्तविक परिस्थिति तथा सम्बन्धित पक्षको जिम्मेवारीबारे विश्वसनीय रूपमा सत्य–तथ्य सार्वजनिक नभएसम्म विभिन्न धारणा र भ्रम फैलिरहने उल्लेख गरिएको छ।
नागरिक अभियानले कुनै व्यक्ति वा संस्थालाई पूर्वनिर्धारित रूपमा दोषी ठहराउने उद्देश्य नभएको स्पष्ट गर्दै निष्पक्ष अनुसन्धानमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
अभियानले ७ दिनभित्र स्वतन्त्र र निष्पक्ष शक्तिशाली छानबिन समिति गठन गरी सत्य–तथ्य सार्वजनिक गर्न माग गरेको छ। दोषी देखिए कानुनबमोजिम कारबाही गर्न तथा अनुसन्धान प्रक्रिया अघि नबढे उत्पन्न हुन सक्ने नागरिक असन्तुष्टिको समाधानका लागि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्रमा “निष्पक्ष छानबिन गर, सत्य–तथ्य सार्वजनिक गर, दोषी भए कानुनबमोजिम कारबाही गर, कानुनभन्दा माथि कोही छैन भन्ने व्यवहारबाट प्रमाणित गर” भन्ने माग अघि सारिएको छ।
ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरानलाई समेत बोधार्थ दिइएको छ।
अशोक पहाडी (गुमान ध्वज नेपाली) र प्रवेश राई (नविन),सन्तोष लिम्बु लगायतले नागरिक अभियानका तर्फबाट ज्ञापनपत्र बुझाएका हुन्।
























Discussion about this post