संखुवासभा । घरायसी प्रयोजनका लागि लगिएको खाने आलु र बीउ आलुमा समेत कर असुल गरिएको भन्दै चिचिला गाउँपालिकाको कर संकलन प्रणालीमाथि प्रश्न उठाइएको छ।
खाँदबारी नगरपालिका–नयाँबजारबाट मकालु गाउँपालिका मुडेतर्फ जाने क्रममा चिचिला गाउँपालिकाको छ्याङकुटी डाँडामा आफूले बोकेको आलुमा कर तिराइएको साङमु भोटियाले बताएका छन्।
भोटियाका अनुसार उनले घरायसी प्रयोजनका लागि १० केजी खाने आलु र १० केजी बीउ आलु बोकेका थिए। उक्त आलुमा समेत गाउँपालिकाको नाममा कर असुल गरिएको उनको भनाइ छ।
कर असुलीपछि उपलब्ध गराइएको रसिदमा भने ‘जडीबुटी, कवाडी र जीवजन्तु कर’ उल्लेख रहेको उनले बताएका छन्। आलु न जडीबुटी हो, न कवाडी सामग्री र न त जीवजन्तु नै हो भन्दै उनले कुन कानुनी आधारमा आलुमा कर लगाइएको हो भन्ने प्रश्न उठाएका छन्।
‘के आलु जडीबुटी हो? के आलु कवाडी हो? के आलु जीवजन्तु हो? कुन आधारमा कर संकलन गर्दै हुनुहुन्छ?’ भोटियाले प्रश्न गरेका छन्।
उनले घरायसी प्रयोजनका लागि बजारबाट खरिद गरेर लगिएको सामान्य तरकारी तथा खाद्य सामग्रीमा समेत स्थानीय तहले कर लगाउने हो भने नागरिकले प्रत्येक पालिका प्रवेश गर्दा कर तिर्नुपर्ने अवस्था आउने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यस घटनाले चिचिला गाउँपालिकाले कुन शीर्षक र कानुनी व्यवस्थाअन्तर्गत कर संकलन गरिरहेको छ भन्ने विषयमा स्पष्टता आवश्यक देखिएको छ।
घरायसी प्रयोजनका लागि लगिएको खाद्य सामग्रीमा कर असुल गर्नुको कानुनी आधार के हो र रसिदमा उल्लेखित करको शीर्षकसँग आलुमा गरिएको असुली कसरी मेल खान्छ भन्ने विषयमा गाउँपालिकाले स्पष्ट पार्नुपर्ने देखिन्छ।
यद्यपि, कर संकलनको आधार, स्वीकृत दर र सम्बन्धित निर्णयबारे गाउँपालिकाको आधिकारिक धारणा प्राप्त भएपछि विषय थप स्पष्ट हुनेछ।























Discussion about this post