काठमाडौं, । पूर्वी नेपालमा निर्माणाधीन सप्तकोशी उच्चबाँध परियोजना विरुद्ध “देशभक्त समाजवादी मोर्चा”ले भारत सरकारलाई औपचारिक रूपमा गम्भीर स्मरणपत्र बुझाएको छ। उक्त स्मरणपत्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै भारतीय दूतावासमार्फत पठाइएको हो।
स्मरणपत्रमा सप्तकोशी उच्चबाँध परियोजनाले नेपालको भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, सुनसरी र संखुवासभा जिल्लाको प्राकृतिक भूगोल र जनजीवनमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ। साथै, परियोजनाले आदिवासी किराती समुदायको आस्था केन्द्र खुवालुङ विनाश गर्ने स्पष्ट खतरा औंल्याइएको छ।
देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती र महासचिव पदम अधिकारीले हस्ताक्षर गरेको उक्त दस्तावेजमा भनिएको छ, “उक्त परियोजनाले नेपाल-भारतबीचको परम्परागत मैत्री सम्बन्धमा दरार ल्याउने जोखिम छ।”
स्मरणपत्रमा नेपालमाथि विगतदेखि हालसम्म थोपारिएका विदेशी रणनीतिहरू — जस्तै सुगौली सन्धि, एमसीसी र एसपीपी — को सन्दर्भ उल्लेख गर्दै सप्तकोशी परियोजनालाई पनि त्यही कड़ीमा राखिएको छ। मोर्चाले नेपाललाई साम्राज्यवादी हस्तक्षेपबाट मुक्त गराउने लक्ष्यसहित संघर्षरत रहेको उल्लेख गरेको छ।
भारत सरकारसँग परियोजना खारेज गर्न माग गर्दै मोर्चाले द्विपक्षीय सम्बन्धलाई अझ मित्रतापूर्ण बनाउन आग्रह गरेको छ।
तपशील यसप्रकार छन्:
१. भूगोल र जीवनमाथि खतरा: सप्तकोशी उच्चबाँध परियोजनाले नेपालको भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, सुनसरी र संखुवासभा जिल्लाको प्राकृतिक भूगोल र स्थानीय बासिन्दाहरूको जीवनशैलीमा व्यापक विनाश ल्याउने छ।
२. सांस्कृतिक आस्था केन्द्रमा अतिक्रमण: आदिवासी किराती समुदायको आस्था केन्द्र खुवालुङ सो परियोजनाको कार्यान्वयनबाट पूर्णरूपमा विनष्ट हुने खतरा छ, जुन धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अक्षम्य हुन्छ।
३. द्विपक्षीय सम्बन्धमा असर: उपर्युक्त नकारात्मक प्रभावहरूको पृष्ठभूमिमा नेपाल र भारतबीचको परम्परागत सौहार्द्रपूर्ण सम्बन्धमा गम्भीर असर पर्ने सम्भावना प्रकट हुँदैछ।





















Discussion about this post