फोटो–भिडियो खिच्न रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, जलविद्युत् विवाद समाधान गर्न समिति गठन

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा जलविद्युत् आयोजनासम्बन्धी छलफलका क्रममा समाचार संकलनमा पुगेका पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले आपत्ति जनाएको छ।

महासंघ संखुवासभाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असोज ३ गते जिल्ला प्रशासन कार्यालय संखुवासभाको समन्वयमा सिलिचोङ गाउँपालिकामा सञ्चालनमा रहेका संखुवा तल्लो, संखुवा माथिल्लो तथा निर्माणाधीन सिसुवाखोला जलविद्युत् आयोजनासँग सम्बन्धित विषयमा छलफल भइरहेको थियो। सो क्रममा समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ संखुवासभाका सदस्य तथा नागरिक चासो डटकमका कार्यकारी सम्पादक खेवाहाङ मेवाहाङलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको महासंघले जनाएको छ।
महासंघले पत्रकारले आफ्नो व्यावसायिक जिम्मेवारीअनुसार सार्वजनिक सरोकारका विषयमा समाचार संकलन तथा फोटो–भिडियो गर्न पाउनुपर्ने भन्दै रोक लगाउने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको जनाएको छ।

महासंघले सार्वजनिक जनसरोकारका विषयमा उठेका प्रश्नबारे रिपोर्टिङका लागि खटिएका सञ्चारकर्मीलाई कडा शब्द प्रयोग गर्दै भिडियो खिच्न रोक लगाउनु प्रमुख जिल्ला अधिकारीको पदकीय मर्यादाविपरीतको गतिविधि भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

जलविद्युत् आयोजनासम्बन्धी समस्या अध्ययन गर्न समिति

यसैबीच, जिल्ला प्रशासन कार्यालय संखुवासभाको समन्वयमा भएको सर्वपक्षीय बैठकले संखुवा र सिसुवा खोलामा निर्माण भइरहेका विभिन्न जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय समुदायले पाउनुपर्ने मुआब्जा, क्षतिपूर्ति तथा यसअघि भएका निर्णयको कार्यान्वयन अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।
बैठकले गुँरास, मातृभूमि र ह्याप्पी इनर्जी लगायतका जलविद्युत् आयोजनासँग सम्बन्धित विषयमा वस्तुस्थितिको अध्ययन गरी सम्भावित जोखिमसमेत समेटेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको कागजातमा उल्लेख छ।

समितिको संयोजकमा सुरेन्द्र राई तथा सदस्यहरूमा मणिप्रसाद राई, प्रशान्त राई, विष्णु राई, ललितकिशोर राई तथा सम्बन्धित ह्याप्पी इनर्जी, मातृभूमि हाइड्रोपावर र गुँरास हाइड्रोपावरका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ।

बैठकले आयोजनाको काममा अवरोध नगर्ने निर्णयसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित