काठमाडौं । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारको निरीक्षण तथा अनुगमन गरेका छन्।
अनुगमनपछि सामाजिक सञ्जालमार्फत उनले नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई उचित पुनर्वासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएको र अहिले त्यहाँबाट समेत हटाउने तयारी भइरहेको भन्ने सार्वजनिक जानकारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
घिसिङले यस्तो अवस्थाको सबैभन्दा ठूलो असर निर्दोष बालबालिकामा परेको उल्लेख गर्दै उनीहरूको शिक्षा, सुरक्षित बाल्यकाल र भविष्य नै संकटमा परेको बताएका छन्। “एउटा सभ्य समाजको पहिचान त्यसले आफ्ना कमजोर र असहाय नागरिकसँग गर्ने व्यवहारबाट झल्किन्छ,” उनले लेखेका छन्।
उनले राज्यको दायित्व नागरिकलाई थप पीडा दिनु नभई सम्मानपूर्वक बाँच्ने आधार सिर्जना गर्नु भएको बताउँदै गरिब हुनु अपराध नभएको र भूमिहीन हुनु कसैको रोजाइ नभएको उल्लेख गरेका छन्।
घिसिङले सुकुम्बासी समस्याको समाधान डोजर, विस्थापन वा अस्थायी व्यवस्थाबाट नभई संवेदनशीलता, संवाद, न्यायपूर्ण पुनर्स्थापना तथा दीर्घकालीन नीतिमार्फत खोजिनुपर्नेमा जोड दिएका छन्।
उनले सम्बन्धित सबै निकायलाई मानवताको मूल्यलाई केन्द्रमा राखेर निर्णय गर्न आग्रह गर्दै हरेक नागरिकको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित हुने गरी न्यायपूर्ण समाधानको बाटो रोज्न अपिल गरेका छन्।




















Discussion about this post