श्रमदानबाट अपाङ्ग बिक्रमको ५ कोठे घर, हर्क साम्पाङले हस्तान्तरण गरे चाबी

धनराज राई

सुनसरी/बराहक्षेत्र — बराहक्षेत्र नगरपालिका–३, बाँगे बजार निवासी अपाङ्ग तथा विपन्न बिक्रम नेपालीका लागि श्रम संस्कृति अभियानमा आबद्ध श्रमदाताहरूको श्रमदान र आर्थिक सहयोगबाट पाँच कोठे नयाँ घर निर्माण गरिएको छ।

नवनिर्मित घरको उद्घाटन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गर्दै बिक्रम नेपालीलाई घरको चाबी हस्तान्तरण गरेका छन्। श्रम संस्कृति पार्टीले श्रमदानलाई आफ्नो अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि सारेको देखिन्छ।

घर निर्माणका लागि सहयोगी दाताहरूबाट रु. ३ लाख ८७ हजार ३ सय ७६ संकलन भएको र रु. ३ लाख ८५ हजार ५ सय ७ खर्च भएको जनाइएको छ। त्यसबाट रु. १ हजार ७ सय ६९ बाँकी रहेको अगुवा श्रमदाता सूर्य बस्नेतले जानकारी दिएका छन्।

कार्यक्रममा बिक्रम नेपालीकी छोरी स्मृति नेपालीले विपन्न, असहाय तथा श्रमजीवीका लागि श्रम संस्कृतिको अभियानले व्यवहारमै काम गरिरहेको आफूहरूले देख्दै आएको बताइन्।

चाबी हस्तान्तरणपछि अध्यक्ष साम्पाङले घर निर्माण अभियानमा योगदान पुर्‍याउने फुलचन मण्डललगायत बराहक्षेत्रका सम्पूर्ण श्रमदातालाई धन्यवाद दिएका थिए। उनले बिक्रम नेपालीलाई शुभकामना तथा बधाईसमेत दिएका थिए।

१४२ जना विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश
घर उद्घाटनपछि बराहक्षेत्र–३ स्थित पुरानो पशुहाट, बाँगे बजारमा हातेमालो तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। आयोजकका अनुसार विभिन्न राजनीतिक दल परित्याग गरी १४२ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई अध्यक्ष साम्पाङले पार्टी सदस्यता वितरण गरेका थिए।

सोही अवसरमा युवा, महिला तथा भूतपूर्व सैनिक संगठनसमेत गठन गरिएको जनाइएको छ। डिकबहादुर राईको संयोजकत्वमा २३ सदस्यीय युवा संगठन, बिना राईको संयोजकत्वमा २५ सदस्यीय महिला संगठन र खड्गबहादुर राईको संयोजकत्वमा २७ सदस्यीय भूतपूर्व सैनिक संगठन गठन गरिएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले “हप्तामा ६ दिन पेटका लागि र एक दिन देशका लागि” श्रमदान गर्नुपर्ने धारणा राखेका थिए। उनले श्रमलाई सम्पत्ति, सम्पदा र शक्तिका रूपमा व्याख्या गर्दै आर्थिक विकासका लागि श्रम आवश्यक रहेको बताएका थिए। पार्टीले श्रम, आत्मनिर्भरता र श्रमदानलाई आफ्नो राजनीतिक अवधारणासँग जोड्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित