धरान। सामाजिक संस्था होप धरान (Hope Dharan) ले बालबालिकामा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल २०२६ सिजन–२’ आयोजना गर्ने भएको छ।
संस्थाले जारी गरेको सूचनाअनुसार प्रतियोगिताको पहिलो अडिसन साउन ९ गते (शनिबार) बिहान १०:०० बजेदेखि धरान–९ स्थित हानकुक साराङ कोरियन रेष्टुरेन्ट (पूर्वेली नाइट) मा सञ्चालन हुनेछ। दोस्रो अडिसन साउन १६ गते (शनिबार) सोही स्थान र समयमा आयोजना गरिने जनाइएको छ।
होप धरानका अध्यक्ष विनयराज गौतम, कार्यक्रम निर्देशक शैलेन्द्र श्रेष्ठ तथा जनसम्पर्क अधिकारी सहज राई द्वारा हस्ताक्षरित सूचनामा प्रतियोगितामार्फत बालबालिकाको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।
संस्थाका अनुसार प्रतियोगिताबाट संकलित रकमको एक हिस्सा विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने सामाजिक अभियानमा खर्च गरिनेछ। यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको मानवीय अभियानका रूपमा पनि अघि बढाइएको आयोजकको भनाइ छ।
प्रतियोगितामा पूर्वी नेपालका बालबालिकालाई सहभागी गराई उनीहरूको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखिएको छ। आयोजकले अभिभावकलाई आफ्ना बालबालिकाको सहभागिताका लागि अडिसनमा उपस्थित गराउन आग्रह गरेको छ।
कार्यक्रममा विभिन्न सरकारी तथा निजी संस्था, शैक्षिक संस्था, व्यवसायिक प्रतिष्ठान र प्रायोजकहरूको समेत सहयोग रहने जनाइएको छ। अडिसनपछि सहभागीहरूका लागि भोजनको व्यवस्था गरिएको जानकारी पनि सूचनामा उल्लेख छ।
आयोजकले बालप्रतिभाको प्रोत्साहनसँगै सामाजिक सेवाको उद्देश्यलाई सफल बनाउन सबै अभिभावक, सरोकारवाला तथा शुभेच्छुकलाई कार्यक्रममा सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ।





















Discussion about this post