धरान, २०८३ आश्विन ३ गते। युनाइटेड डान्स एकेडेमी धरानको आयोजनामा सञ्चालित स्कुल डान्स आइडल सिजन–१० को सेमिफाइनल प्रतियोगिता सम्पन्न भएको छ। धरान–९ स्थित होटल रत्न इनमा आयोजित सेमिफाइनलमा विभिन्न विद्यालय तथा उमेर समूहका प्रतियोगीहरूले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेका थिए।
सेमिफाइनलमा सहभागी प्रतियोगीहरूले २ देखि ४ मिनेटसम्मको नृत्य प्रस्तुति दिएका थिए। Senior र Junior समूहका प्रतियोगीहरूले नृत्यमार्फत आफ्नो कला, सिर्जनशीलता, तालमेल तथा प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए।
सेमिफाइनलमा Senior समूहका ३५ प्रतियोगीमध्ये १५ जना फाइनल चरणका लागि छनोट भएका छन्। त्यस्तै Junior समूहका ३५ प्रतियोगीमध्ये १५ जना फाइनलमा प्रवेश गरेका छन्। यससँगै दुवै समूहबाट गरी ३० जना प्रतियोगीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
कार्यक्रम युनाइटेड डान्स एकेडेमीका अध्यक्ष अमन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी तथा सुधार नेपालकी अध्यक्ष निना चन्द्र राई प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
प्रतियोगिताको निर्णायकमा तृष्णा राई र सन्तोष योञ्जन रहेका थिए। उनीहरूले प्रतियोगीहरूको नृत्य प्रस्तुति, तालमेल, हाउभाउ, प्रस्तुति शैली, सिर्जनशीलता तथा समग्र प्रदर्शनका आधारमा मूल्याङ्कन गरेका थिए।
कार्यक्रमको व्यवस्थापन तथा सञ्चालनमा संस्थाका सञ्चालक सन्तोष तामाङको भूमिका रहेको थियो। कार्यक्रमलाई रिङचिन गुरुङ र महिमा लिम्बूले होस्ट गरेका थिए।
फाइनलमा Senior र Junior दुवै समूहका उत्कृष्ट १५–१५ जना प्रतियोगीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार Senior समूहका विजेताले रु. १ लाख, दोस्रो हुनेले रु. ५० हजार र तेस्रो हुनेले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै Junior समूहका विजेताले रु. ५० हजार, दोस्रो हुनेले रु. २५ हजार र तेस्रो हुनेले रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
विद्यालय तहमा रहेका बालबालिका तथा युवाहरूको नृत्य प्रतिभा पहिचान गरी उनीहरूलाई उचित मञ्च प्रदान गर्ने उद्देश्यले युनाइटेड डान्स एकेडेमीले हरेक वर्ष स्कुल डान्स आइडल आयोजना गर्दै आएको जनाएको छ। प्रतियोगिताले स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई थप अवसर प्रदान गर्दै राष्ट्रियस्तरसम्म पुग्न सहयोग गर्ने आयोजकको अपेक्षा छ।
सेमिफाइनल पार गर्दै फाइनलमा प्रवेश गरेका ३० प्रतियोगी अब उपाधिका लागि अन्तिम प्रतिस्पर्धाको तयारीमा जुट्नेछन्। फाइनल प्रतिस्पर्धाबाट Senior र Junior दुवै समूहका विजेताको टुंगो लाग्नेछ। (तस्बिर : गोपाल पौडेल )
























Discussion about this post