धरान । देशीलाइन–भानुचोक क्षेत्रमा लागू गरिएको एकतर्फी (वान–वे) सडक व्यवस्थाको विरोधमा आन्दोलनरत व्यवसायीहरूले स्थानीय सरकार, वडा नेतृत्व तथा सुनसरी उद्योग वाणिज्य संघले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। आन्दोलनका क्रममा आयोजित कोणसभामा व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूले तत्काल संवाद र समाधानको माग गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका धरान नगर सचिव तथा व्यवसायी भुपाल राईले स्मार्ट बसपार्क निर्माण आवश्यक भए पनि बसपार्क स्थानान्तरणपछि देशीलाइन क्षेत्रका व्यवसायीको हित संरक्षणमा उपमहानगरपालिका पूर्ण रूपमा असफल भएको आरोप लगाए। व्यवसायीहरूले पटक–पटक समन्वय र छलफलको प्रयास गर्दा स्थानीय सरकारका जिम्मेवार पदाधिकारीबाट अहंकारी व्यवहार भएको भन्दै उनले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
उनले देशीलाइन व्यवसायीहरूको मुख्य माग भानुचोक क्षेत्रमा यात्रु चढाउने–ओराल्ने व्यवस्था पुनः लागू गर्न तथा कोशी राजमार्गअन्तर्गत देशीलाइन सडकलाई पुनः दुईतर्फी (टु–वे) सञ्चालन गर्नुपर्ने रहेको स्पष्ट पारे। अन्यथा धरानको व्यापारिक गतिविधि झन् कमजोर हुँदै जाने चेतावनी दिए।
कार्यक्रममा बोल्दै पूर्व वडा अध्यक्ष तथा स्थानीय घरधनी प्रतिनिधिले फुस्रे बजारको उदाहरण दिँदै गलत यातायात नीतिका कारण कुनै समयको समृद्ध बजार कसरी सुनसान बनेको स्मरण गराए। देशीलाइन र भानुचोक पनि त्यही अवस्थातर्फ उन्मुख भएको भन्दै उनले घरधनीहरूलाई पनि व्यवसायीको आन्दोलनमा साथ दिन आग्रह गरे।
उनले ३२ फिटको सडक विस्तार गरेर ५० फिट बनाउँदा स्थानीयले घर भत्काएर सहयोग गरेको तर अहिले त्यही सडकलाई एकतर्फी बनाइएपछि व्यापार चौपट भएको बताए। नगर प्रमुखलाई घटनास्थलमै आएर व्यवसायीसँग वार्ता गरी समाधान निकाल्न आग्रह गर्दै आन्दोलनलाई बेवास्ता नगर्न चेतावनी दिए।
देशीलाइन व्यवसायी समितिका अध्यक्ष गंगा राईले व्यवसायीहरू आफ्नो लगानी, रोजगारी र व्यापारिक वातावरण जोगाउन सडकमा उत्रिएको बताए। स्थानीय सरकारको अव्यवहारिक निर्णय र संवादको अभावले समस्या सिर्जना भएको उनको भनाइ थियो।
उनले आन्दोलन शान्तिपूर्ण रहे पनि मागको सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए। साथै सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
व्यवसायीहरूले आन्दोलनका क्रममा प्रहरी परिचालन गरेर हस्तक्षेप गरिएको भन्दै त्यसको पनि विरोध गरेका छन्। उनीहरूले स्थानीय सरकारलाई दमनको बाटो नभई वार्ता र समन्वयमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।
व्यवसायीहरूको भनाइअनुसार स्थानीय सरकारबाट तत्काल पहल नभए भोलिदेखि आन्दोलनको स्वरूप अझ सशक्त बनाइनेछ। आन्दोलनले देशीलाइन–भानुचोक क्षेत्रको व्यापारिक भविष्य, सडक व्यवस्थापन र स्थानीय सरकारको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको दाबी छ।
एकतर्फी बाटो खुलाउने जस्मा दुई पाङ्ग्रेलाई मात्र भनेपछि स्थानीय व्यापारीले सबै सवारी खुल्नुपर्ने माग राखेका थिए । सबै नखोल्ने भए भन्दै सडकमा बसेर बाटो अवरोध गरेका थिए । प्रहरीले तीनपटकसम्म धरपकटसंगै बाटो खुलाउने प्रयास गरे पनि सफल हुन सकेन । बिहान ९:१५ मा एकतर्फी खुलाउन कार्यवाहक नगर प्रमुख ब्यस्तताका बाबजुद आउन नसकेको अनुमान गरे पनि साँझ छ बजेसम्म पनि मेयर वडा अध्यक्ष उद्योग वाणिज्य संघको कोहि प्रतिनिधिको उपस्थिति देखिएन ।




















Discussion about this post