धरान । दोस्रो जुनियर मिस्टर एन्ड मिस धरान आइडल–सिजन २ को सबै अडिसन चरण सम्पन्न भएको छ। कार्यक्रम संयोजक निश्चल पलिखेका अनुसार अब दोस्रो चरणका लागि छनोट भएका सहभागीहरूको नामावली चाँडै सार्वजनिक गरिनेछ।
आयोजक संस्था होप धरानले सञ्चालन गरेको प्रतियोगिताको दोस्रो अडिसनमा ६८ जना बालबालिकाले सहभागिता जनाएका थिए। अडिसनका क्रममा सहभागीहरूले आफ्नो परिचय, नृत्य तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै संयोजक पलिखेले निर्णायक मण्डल, प्रमुख अतिथि, सञ्चारकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे। उनले प्रतियोगिता पारदर्शी ढंगले सञ्चालन गरिएको बताउँदै २४ वटा आधिकारिक मिडियाले कार्यक्रमलाई साथ दिएको जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा छनोट भएका प्रतिस्पर्धीलाई साउन १८ गतेदेखि भदौ १८ गतेसम्म एक महिनाको व्यक्तित्व विकास, स्टेज प्रस्तुति, सञ्चार सीप, प्रतिभा विकासलगायतका विभिन्न प्रशिक्षण प्रदान गरिनेछ। भदौ १९ गते रिहर्सल र भदौ २० गते धरानस्थित पीपीआईएचएसको दरा हलमा ग्रान्ड फिनाले आयोजना गरिने कार्यक्रम रहेको छ।
पलिखेले प्रतियोगिताबाट हुने नाफा धरान तथा आसपासका पाँच वटा आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरणमा खर्च गरिने बताए। गत वर्षको पहिलो संस्करणबाट ब्रेन ट्युमर पीडित बालक अंकित खड्कालाई रु. १ लाख ५० हजार आर्थिक सहयोग गरिएको स्मरण गराउँदै यस वर्ष पनि सामाजिक सेवाकै उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
कार्यक्रमका लागि धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयसँग आवश्यक समन्वय तथा अनुमति लिइएको आयोजकले जनाएको छ। साथै दर्शकलाई टिकट खरिद गरी सामाजिक अभियानमा साथ दिन आयोजकले आग्रह गरेको छ।






























Discussion about this post