नबिन सेन्चुरी
धरान । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियाका क्रममा बोलाइएको बजेट तर्जुमा समितिको बैठकमा दुई वडाध्यक्षले अमर्यादित तथा अश्लील अभिव्यक्ति प्रयोग गरेको उपमहानगरपालिकाले आरोप लगाएको छ।
धरान उपमहानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बजेट निर्माण प्रक्रियालाई व्यापक छलफल, संवाद, सहमति तथा सहभागितामूलक अभ्यासमार्फत निष्कर्षमा पुर्याउने उद्देश्यले साउन २२ गते बिहान ९ बजे बजेट तर्जुमा समितिको बैठक आह्वान गरिएको थियो।
उपमहानगरपालिकाका अनुसार बजेट निर्माण प्रक्रिया समयमै सम्पन्न गर्न पटक–पटक कार्यपालिका, विषयगत समिति तथा सरोकारवालाबीच छलफल र सहमति हुँदै आएको थियो। तर केही वडाध्यक्षबाट भएका सहमतिहरू कार्यान्वयन नगर्ने, समयमै बजेट प्रस्तुत हुन नदिने तथा नगरवासीको साझा हितसँग सम्बन्धित योजना तथा कार्यक्रमको बजेट कटौती गर्न निरन्तर दबाब दिने गतिविधि भइरहेको विज्ञप्तिमा उल्लेख छ।
विषयगत समिति तथा वडा कार्यालयबाट प्राथमिकताका आधारमा छनोट भई आएका योजना तथा कार्यक्रमलाई समायोजन गर्दै बजेटलाई अन्तिम रूप दिने क्रममा बसेको बजेट तर्जुमा समितिको बैठकमा धरान–१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र धरान–१५ का वडाध्यक्ष नरेश इवारामले कार्यवाहक नगर प्रमुखप्रति अमर्यादित तथा अश्लील अभिव्यक्ति प्रयोग गर्नुका साथै बैठकको मर्यादाविपरीत व्यवहार गरेको उपमहानगरपालिकाको दाबी छ।
उक्त व्यवहारका कारण बैठकको वातावरण अत्यन्त असहज बनेको भन्दै उपमहानगरपालिकाले जनप्रतिनिधिबाट अपेक्षित मर्यादा, संयमता र जिम्मेवारीविपरीत भएको व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेको छ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा मतभिन्नता, आलोचना र असहमति स्वाभाविक विषय भए पनि त्यस्ता असहमति संवाद, संयमता, पारस्परिक सम्मान तथा संस्थागत मर्यादाभित्र रहेर अभिव्यक्त हुनुपर्ने उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले सार्वजनिक संस्थाको गरिमा, निर्णय प्रक्रियाको मर्यादा तथा जनप्रतिनिधिबीचको जिम्मेवार आचरणले नै लोकतान्त्रिक संस्थाप्रति जनविश्वास बलियो बनाउने जनाएको छ।
बैठकमा उत्पन्न असहज परिस्थितिका कारण शुक्रबारका लागि निर्धारित कार्यपालिका बैठक तथा नगरसभा स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ।
यसबाट आम धरानवासीमा पर्न जाने असुविधा तथा असहजताप्रति उपमहानगरपालिकाले क्षमायाचना समेत गरेको छ।





















Discussion about this post