पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा, कास्की। कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।

उपचारका क्रममा चार बालबालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। तिवारी उपचारका लागि जाने क्रममा बसमा लिफ्ट लिएर सवार भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

मृत्यु हुने विद्यार्थीमध्ये करिब १२/१३ वर्षीया ममता तिवारी र १३/१४ वर्षीय अशिम कँडेलको पहिचान खुलेको छ। अन्य दुई बालिकाको नामथर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

१४ जना घाइतेको अस्पतालमा उपचार
दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र १६ वर्षीय सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

गण्डकी अस्पतालमा उपचाररत घाइतेमध्ये १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर छ। अन्य घाइते विद्यार्थी तथा बस चालक तुलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। अधिकांश घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
उद्धारमा खटिएका प्रहरी जवान पनि घाइते
दुर्घटनामा परेकाहरूको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित