नवीन सेन्चुरी
धरानः सुनसरीको फिनेल प्रकरणसम्बन्धी समाचार र त्यसमा आफ्नो नाम जोडिएको विषयमा पत्रकार सञ्जिता धमलाले दिएको उजुरीपछि प्रेस काउन्सिल नेपालले रातोपाटी डटकमसँग तीन दिनभित्र जवाफ माग गरेको छ।
प्रेस काउन्सिलले २०८३ असोज २३ गते रातोपाटी डटकमका सम्पादकलाई पत्र पठाउँदै प्रकाशित समाचारको तथ्य पुष्टि गर्ने आधार र उजुरीमा उठाइएका विषयबारे स्पष्टीकरण माग गरेको हो।
पत्रकार धमलाले असोज २३ गते काउन्सिलमा उजुरी दिँदै फिनेल प्रकरणमा आफ्नो नाम जोडेर आधार र प्रमाणबिना समाचार प्रकाशित गरिएको दाबी गरेकी छन्। आफूले दिएको खण्डन हटाइएको तथा मूल समाचारलाई सामाजिक सञ्जालमा प्रचार गरिए पनि खण्डनलाई सोहीअनुसार सार्वजनिक नगरिएको उनको गुनासो छ।
रातोपाटी डटकमले असोज १४ गते ‘फिनेल प्रकरणमा नयाँ खुलासा : तालाबन्दीपछि बन्यो ‘फिनेल’ ल्याउने योजना’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा आफ्नो संलग्नता नरहेको भन्दै धमलाले आरोप अस्वीकार गरेकी छन्।
उजुरीपछि प्रेस काउन्सिलले पत्रकार आचारसंहिता तथा कारबाहीसम्बन्धी कार्यविधि, २०७५ को तेस्रो संशोधन, २०८१ को दफा ५(छ) अनुसार जाँचबुझ प्रक्रिया अघि बढाएको जनाएको छ।
काउन्सिलले समाचार तयार पार्दा तथ्य पुष्टि गर्न अपनाइएका आधार र उजुरीकर्ताले उठाएका विषयमा रातोपाटीको धारणा तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ।




















Discussion about this post