जसपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, विपक्षमा बस्ने निर्णय

काठमाडौ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकबाट सरकारविरुद्ध महत्वपूर्ण निर्णय गर्दै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टीको संसदीय दलको बैठक आज असार ३२ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेर उक्त निर्णय गरेको हो। बैठकमा सरकारले जनअपेक्षाअनुसार सुशासन र विकासको दिशा तय गर्न नसकेको निष्कर्ष निकालिएको छ।

बैठकले सरकारको कार्यशैली र प्रदर्शनबारे विस्तृत समीक्षा गर्दै ११ वटा मुख्य कारण उल्लेख गर्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो। जसपाले सरकारलाई असफल ठहर गर्दै अबदेखि संसदमा विपक्षी भूमिकामा बस्ने घोषणा गरेको छ।

सरकार असफल भएको प्रमुख कारणहरू यसप्रकार छन्:

१. जनतामाझ सुशासनको प्रत्याभूति गराउन नसक्नु,

२. भ्रष्टाचार, अनियमितता, कमिशनतन्त्र, र विचौलियाको प्रभाव रोक्न असफलता,

३. असन्तुलित र पूर्वाग्रही बजेटसहित अर्थतन्त्र सुधारमा चासो नदिएको,

४. संघीयता कार्यान्वयनमा ठोस प्रयास नगरेको,

५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकासमा चासो नदिएको,

६. शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता सेवामा गुणस्तरीय सुधार ल्याउन नसकेको,

७. उत्पीडित समुदायहरूको समस्या सम्बोधन गर्न नसक्नु,

८. मधेश, थरूहट, किरात–लिम्बुवान आन्दोलनका राजबन्दीहरूलाई रिहा नगरेको,

९. संविधान संशोधन गर्न कुनै प्रयास नगरेको,

१०. कृषकलाई मल, बीउ, किटनाशक औषधि र ऋण उपलब्ध गराउन नसकेको,

११. बेरोजगारी समस्या समाधान गर्न रोजगारी सिर्जना गर्न नसकेको।

 

बैठकपश्चात जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “सरकारप्रति समर्थनको कुनै औचित्य नरहेकाले उक्त समर्थन फिर्ता लिइएको छ। अबदेखि जनता समाजवादी पार्टी, नेपाल प्रतिपक्षमा बस्ने छ।”

यस निर्णयसँगै जसपा अब औपचारिक रुपमा सरकारविरुद्धको ध्रुवीकरणमा उभिएको छ, जसले आगामी राजनीतिक समीकरणमा असर पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित