काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा महिलाका अवसर र चुनौती समाधान गर्न राज्य, निजी क्षेत्र, वित्तीय संस्था र समाजको साझा प्रयास अपरिहार्य रहेको बताएका छन्।
नीति रिसर्च प्रा.लि.द्वारा आयोजित ‘स्टार्टअपमा महिला : अवसर, चुनौती र आगामी बाटो’ अन्तरक्रियामा बोल्दै उनले कृषि, पर्यटन, सूचना प्रविधि र सिर्जनात्मक उद्योगमा महिलाको उद्यमशीलता बढ्दो क्रममा रहेको उल्लेख गरे।
उनले महिलाहरू वित्तीय पहुँच, सामाजिक सोच, पारिवारिक जिम्मेवारी र नीतिगत जटिलताका कारण चुनौतीमा परिरहेको बताउँदै ती समस्या प्रणालीगत कमजोरीका कारण उत्पन्न भएको धारणा राखे। मन्त्रालयले महिला उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र सहजीकरणमा प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप कर्जामा महिलाको सहभागिता पछिल्ला वर्षमा घट्दो क्रममा रहेको तथ्याङ्क प्रस्तुत गरे। स्टार्टअप नीति २०८१ कार्यान्वयनमा आएसँगै कर्जा प्रवाह बढे पनि महिलाको अनुपात घट्नु चिन्ताजनक रहेको उनले बताए।
महिला उद्यमी महासंघ नेपालकी शोभा ज्ञवालीले स्टार्टअप कर्जालाई ग्रामीण तथा दुर्गम क्षेत्रमा विस्तार गर्न माग गरिन् भने नेपाल महिला चेम्बरकी उपाध्यक्ष आरुश्री शर्मा खतिवडाले विदेशबाट फर्किएका युवाहरू उद्यमशीलतामा आकर्षित भइरहेको अनुभव साझा गरिन्। नीति रिसर्च प्रा.लि.ले यस्ता कार्यक्रम सातै प्रदेशमा विस्तार गर्ने घोषणा गरेको छ।





















Discussion about this post