समावेशी र समतामूलक समाज निर्माणका लागि धरानमा ‘अनुपम अभियान’को कोणसभा

धरान, असार २ गते । समावेशी र समतामूलक समाज निर्माण सबैका लागि अपरिहार्य रहेको सन्देशसहित सञ्चालन भइरहेको अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) को ‘अनुपम अभियान’ अन्तर्गत धरानमा कोणसभा सम्पन्न भएको छ।

धरान उपमहानगरपालिकाको कार्यालय अगाडि आयोजित उक्त कोणसभामा महिला अधिकार, लैङ्गिक समानता तथा राजनीतिक सहभागिताका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न महिला सञ्जाल तथा महिला अधिकारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कोणसभामा वक्ताहरूले आगामी २०८४ सालको निर्वाचनमा महिलाको अर्थपूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

उनीहरूले राज्यका सबै तहमा महिलाको समानुपातिक तथा प्रतिनिधिमूलक सहभागिता अझै पर्याप्त हुन नसकेको भन्दै राजनीतिक दल, सरकार तथा सरोकारवाला निकायले महिलाको नेतृत्व विकास र अवसर विस्तारमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) ले सञ्चालन गरिरहेको ‘अनुपम अभियान’ देशव्यापी रूपमा महिला अधिकार, समानता र समावेशिताका पक्षमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ। अभियानअन्तर्गत विभिन्न जिल्लामा समुदायस्तरमा कोणसभा, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्।

कार्यक्रममा सहभागीहरूले “समावेशी, समतामूलक समाज सबैका लागि अपरिहार्य” भन्ने नारालाई व्यवहारमा उतार्न राज्यका नीति, योजना र निर्णय प्रक्रियामा महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।

अनुपम अभियानले आगामी निर्वाचनलाई लक्षित गर्दै महिला नेतृत्व प्रवर्द्धन, राजनीतिक सहभागिता वृद्धि तथा समावेशी लोकतन्त्र सुदृढीकरणका लागि देशभर अभियान सञ्चालन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित