नबिन सेन्चुरी
धरान, असार १८ — धरानका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट लागूऔषधसहित नगद र मोबाइल फोन समेत बरामद भएको प्रहरीले जनाएको छ।
पहिलो घटनामा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको PIT टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले बेलुका ७:२० बजे धरान–७ पानमारा स्टेन्ड स्थित सेवानुङ होटलमा छापा मारेर धरान–२ देशीलाइन स्थायी घर भएका ३६ वर्षीय रितेश भुजेललाई पक्राउ गरेको हो। उनले सञ्चालन गर्दै आएको होटलबाट प्रहरीले ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, एक थान रेड्मी मोबाइल र नगद ४७ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
यस्तै, दोस्रो घटनामा सोही दिन अपराह्न ४:३० बजे धरान–१५ स्थित बिग फुटसल अगाडि लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरान–३ शान्तीपथ निवासी ४३ वर्षीय शंकर गिरीलाई पक्राउ गरेको हो। उनको साथबाट २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, एक थान रियलमी मोबाइल फोन तथा नगद ६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, धरानमा बुझाइएको प्रहरीले जनाएको छ।




















Discussion about this post